कर्णाली

मुख्यमन्त्री रोजगार कार्यक्रम’ मा कुनै दुराशय नियत छैन : मुख्यमन्त्री

इकागज |
असार २४, २०७९ शुक्रबार २२:३ बजे

फाइल फोटो

कर्णाली - कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ मा कुनै दुराशय नियत नभएको बताएका छन् । 

प्रदेशसभाको आज बसेको दशौँ अधिवेशनको १९औँ बैठकमा सरकारको तर्फबाट जवाफ दिँदै मुख्यमन्त्री शाहीले सरकारले राम्रा र नराम्रा सबै कुराको जिम्मेवारी लिँदै आएको बताए । 


उनले भने, `हामी प्रतिपक्षीसँग भएका सहमतिअनुसार अगाडि बढेका छौँ । मुख्यमन्त्रीले रोजगार कार्यक्रमको बजेट कार्यकर्तामुखी बनायो भन्ने अब्जसले मन दुखाएको छ ।` उनले कर्णाली विकासका लागि सबैको उत्तिकै दायित्व भएको भन्दै राम्रो काममा प्रशंसा र नराम्रो कामको खबरदारी गर्न प्रतिपक्षीलाई आग्रह गरे । 

आगामी आव २०७९/०८० का लागि प्रदेश सरकारले मौलिक र यथार्थ बजेट ल्याएकामा धन्यवाद दिन उनले आग्रह गरे । माथिल्लो कर्णालीका हुम्ला, डोल्पा, मुगुलगायतका जिल्ला र सुर्खेतलाई समान बजेट विनियोजन कार्य वैज्ञानिक नहुने भन्दै समतामूलक तवरबाट बजेट तथा योजना निर्माण गर्ने मुख्यमन्त्री शाहीले बताए । कृषिबाहेक अन्य कुनै पनि मन्त्रालयको योजना रु १५ लाखभन्दा मुनिका नहुने उनको प्रष्टीकरण थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेशको सीमापारिका जिल्लामा बजेट जाने अवस्थाले यहाँको सार्वभौम संसद्को गरिमा बढाउन नसक्ने टिप्पणी गरे । 

`कर्णालीमा थोरै पैसाले धेरै काम गर्नुपर्ने अवस्था छ`, नेता कँडेलले भने, `चार वर्षको बजेट ठूलो तर उपलब्धि कम रहेको छ ।` प्रदेश योजना आयोग दुब्लाएको व्यङ्ग्य गर्दै उनले सरकारलाई मागदर्शन गरेर प्रतिपक्षीले सहयोग पुर्‍याउँदै आएको जिकिर गरे । 


Author

थप समाचार
x