आयुर्वेदतर्फ नागरिकको आर्कषण बढ्दो, जनशक्तिको अभाव
सुर्खेत । पछिल्लो समय सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद औषधालयमा उपचारतर्फ सेवाग्राहीको विश्वास बढ्न थालेको छ । विशेष गरेर कोभिड संक्रमणपछि यसतर्फ धेरैको आकर्षणमा परेको छ ।
पहिले प्रायः सुनसान हुने आयुर्वेद औषधालयमा आजभोली सेवा लिनेको चाप बढ्दो छ । पछिल्ला वर्षहरूमा आयुर्वेद उपचार सेवा लिनेहरूको आकर्षण देखिएको हो। वर्षेनि सेवा लिनेको संख्या बढ्दै गएको औषधालयले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७८/०७९ मा औषधालयबाट ४० हजार ८६ जनाले सेवा लिएका छन् । कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ३० हजार चार सय ३६ जनाले आयुर्वेदका विभिन्न उपचार सेवा लिएका थिए । विगतका वर्षको तुलनामा सेवा लिनेको संख्यामा वृद्धि हुँदै गएको औषधालयले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा औषधालयबाट सेवा लिनेको संख्या २८ हजार तीन सय ५५ थियो ।
आयुर्वेदमा सेवाग्राहीको विश्वास बढिरहे पनि बेला यो उपचार पद्धति सरकारको प्राथमिकतामा भने पर्न सकेको छैन । आयुर्वेद औषधालय तथा केन्द्रहरू जनशक्ति र भौतिक पूर्वाधारको अभाव झेलिरहेका छन् । प्रदेश आयुर्वेद औषधालयमा प्राविधिक र अप्राविधिक गरी करिब ४४ जना कर्मचारी आवश्यक रहेकोमा हाल आठ जनाको मात्रै स्वीकृत दरबन्दी छ । जनशक्तिको चरम अभाव भएपछि केही कर्मचारी छात्रवृति करारबाट लिएर सेवा प्रवाह गरिएको कार्यालय प्रमुख शंकर रिजालले बताए । उनका अनुसार करार सेवामार्फत नौ जना स्वास्थ्यकर्मी नियुक्त गरिएका छन् । प्रदेशस्तरीय संरचना भएपनि यहाँ सबैभन्दा कम कर्मचारी कार्यरत रहेको औषधालय प्रमुख रिजाल बताउँछन् ।
औषधालयका अनुसार कर्णालीका ३९ स्थानमा नागरिक आरोग्य सेवा केन्द्रहरू छन् । पालिकास्तरमा नागरिक आरोग्य सेवा केन्द्र र वडास्तरमा गाउँघर क्लिनिक सञ्चालनमा रहेका हुन् । प्रदेशका २८ स्थानीय तहमा आयुर्वेद संस्था विस्तार भएका छन् भने ५१ स्थानीय तहमा संस्था स्थापना गर्न बाँकी रहेको जनाइएको छ । १३ वटा स्थानीय तहमा भने अहिलेसम्म आयुर्वेदको कुनै पनि सेवा पुगेको छैन । प्रदेश आयुर्वेद औषधालयले जनशक्ति र भौतिक पूर्वाधारको अभावका बीच पनि ओपीडिसहित दर्जन बढी सेवाहरू दिइरहेको डा. रिजालले बताए ।
उनका अनुसार प्रयोशाला सेवा, क्षारसुत्र सेवा, पञ्चकर्म सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य रक्षा तथा प्रवद्र्धनलगायतका कार्यक्रम औषधालयले सञ्चालन गर्दै आएको छ । औषधालयमा विशेषगरी नसा, ढाड, हड्डी र पेटसम्बन्धी समस्या भएका बिरामीहरू आउने गरेका छन् । त्यसैगरी, पायल्स, फिस्टुला र डाइबेटिज रोगका बिरामीहरूको पनि चाप हुने गरेको छ । औषधालयले सेवाग्राहीलाई ३९ प्रकारका आयुर्वेद औषधीसमेत निःशुल्क दिन्छ । ‘आयुर्वेदसम्बन्धी २३ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भनिए पनि हामीले यहाँबाट थप केही औषधि निःशुल्क वितरण गर्ने व्यवस्था मिलाएका हौँ,’ डा. रिजालले भने । एक्सरे र भिडियो एक्सरे सेवा दिइरहेको औषधालयले स्वास्थ्य जीवनका लागि जीवनशैली व्यवस्थापनसम्बन्धी दैनिक योग ध्यान पनि सञ्चालन गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया