करारका कर्मचारी हटाउँदै कर्णाली
सुर्खेत । कर्णाली प्रदेशका स्थानीय तहहरुले करारमा लिएका कर्मचारीहरुलाई हटाउन थालेका छन् । करार कर्मचारीले पालिकाको आर्थिक व्ययभार बढाएको र यसले विकास बजेटमा समेत प्रभाव पारेको भन्दैै कर्णालीका स्थानीय तहले करारमा राखिएका कर्मचारी हटाउन थालेका हुन् ।
नयाँ जनप्रतिनिधि आएसँगै पालिकाले करारमा लिएका कर्मचारीहरुलाई हटाउन थालेका हुन् । आन्तरिक आयस्रोतबाट तलब भत्ता खानेगरी राखिएका करार कर्मचारीहरु हटाउन सुरुवात गरिएको छ ।
कालिकोटको शुभकालिका गाउँपालिका र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले सूचना जारी गर्दै करारमा लिइएका कर्मचारीसँग आगामी आर्थिक वर्ष २०७९÷०८० देखि करार सम्झौता नगरिने सूचना जारी गरेका छन् ।
शुभकालिका गाउँपालिकाले करार सेवामा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी, वडा कार्यालयका कार्यालय सहयोगी, गाउँपालिकाको कार्यालयमा कार्यरत करारका सबै कर्मचारी, पालिकाको अनुदानबाट तलब खाने सबै तहका करार शिक्षक र वालविकास केन्द्रका कर्मचारी, कृषि शाखा तथा पशु सेवा शाखाका पालिका अनुदानका कर्मचारीहरुसँग करार सम्झौता नगर्ने जनाएको छ । पालिकाको यो निर्णय गाउँपालिकाभर करार सेवामा रोजगारी पाएका ८३ बढीको संख्यामा नागरिकहरु वेरोजगार हुने अवस्था छ । पालिकाले भने करार कर्मचारीको कारण व्ययभार बढेको र विकास बजेटमा प्रभाव परेका कारण करार कर्मचारीलाई राख्न नसकिएको जनाएको छ ।
शुभकालिका गाउँपालिकाका उपाध्यक्ष धर्मकला शाहीले करारमा कर्मचारी धेरै भएकाले विकास बजेटमा प्रभाव परेको देखिएकाले करार कर्मचारीसँगको कार्य सम्झौता रोक्न लागिएको बताइन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाही पनि करार सम्झौता कर्मचारीलाई हटाउने पालिकाले निर्णय गरेको र जनशक्ति व्यवस्थापनका विषयमा काजमा घटाउने योजना रहेको प्रतिक्रिया दिए ।
यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले पनि नगरपालिकाको आन्तरिक आम्दानीबाट पारिश्रमिक पाउनेगरी करार सेवामा कार्यरत रहेका कर्मचारीसँग सम्झौता नवीकरण नगर्ने जनाएको छ । नगरपालिकाको असार ६ गते बसेको नगर कार्यपालिकाको निर्णयले करार कर्मचारीलाई सम्वन्धित शाखा तथा कार्यालयले हाजिर गराएमा सम्वन्धित व्यक्तिले दावी गर्ने तलव, पारिश्रमिक तथा अन्य सुविधा हाजिर गराउने व्यक्ति नै जिम्मेवार हुने समेत चेतावनी दिएको छ ।
यसैबीच गाउँपालिकाले आफुहरुलाई हटाउन लागिएको भन्दै शुभकालिका गाउँपालिकाका करारका कर्मचारीहरु मिलेर गाउँपालिकामा तालाबन्दी गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया