कर्णाली

आगलागीका कारण दिनहुँ बढ्दै प्रदूषण, सचेत रहन आग्रह

जितेन्द्र थापा |
चैत २५, २०७७ बुधबार १३:२७ बजे

सुर्खेत (वीरेन्द्रनगर) : देशभरका अन्य जिल्लासँगै कर्णाली प्रदेशको वीरेन्द्रनगरमा पनि वायु प्रदुषण अत्यधिक मात्राले बढेको छ । सुर्खेत उपत्यकाको आकाश विहानैदेखि धमिलो देखिरहेको छ भने घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको छ ।

केही दिन यता वीरेन्द्रनगरका केही भूभाग र कर्णालीका अन्य ठाउँहरुमा थुप्रै आगलागीका घटना भइरहेका छन् । सुर्खेतका विभिन्न ठाउँ गरी करिब २५ सय हेक्टरमा आगलागी भएको छ । आगलागीमा परी दुईजनाको मृत्यु भएको र एकजना घाइते भएको प्रदेश वन निर्देशनालयका डिभिजनल वन अधिकृत गोविन्द दाहालले बताए । 
‘अहिले विभिन्न ठाउँहरूमा आगलागी भएको छ, केही ठाउँको आगो नियन्त्रणमा आए पनि अन्य ठाउँमा दमकल, प्रहरी र स्थानीयले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्,’ उनले भने ।


‘जंगलको बाटो हिंड्ने यात्रुले र गाडीमा यात्रा गर्ने यात्रुले चुरोटका ठूटा जंगलमा फाल्नाले र कसैले जानीजानी हर्कत गर्नाले यस्तो समस्या निम्तिएको छ,’ दाहालले भने, ‘आगलागीले मानव जाति र जीवजन्तुलाई नै असर पुग्ने भएकाले यस्तो कार्य नगर्न अनुरोध गर्दछौँ ।’

वनमा लागेको डढेलो नियन्त्रण नभएसम्म तत्काल प्रदूषण कम हुने सम्भावना नरहेको विज्ञहरुले उल्लेख गरेका छन् । वायुमण्डलमा प्रदूषण अत्यधिक भई वायुको अवस्था स्थिर रहँदा त्यसमा अन्य प्रदूषणको मात्रा समेत थपिंदै गएको छ ।

वीरेन्द्रनगरलगायत अन्य जिल्लामा पनि प्रदूषण बढेका कारण सचेत रहन वातावरण विभागले आग्रह गरेको छ । वीरेन्द्रनगरलगायत अन्य ठाउँको वायु प्रदूषण खराब अवस्थामा रहेको वातावरण विभागका प्रवक्ता इन्दु विक्रम जोशीले बताए । ‘वीरेन्द्रनगरको प्रदूषण मापन गर्ने यन्त्रमा केही समस्या आएका कारण मापन गर्न सकिएको छैन,’ जोशीले भने, ‘वायु प्रदूषण हिजोभन्दा आज धेरै बढेकाले सचेत रहन आग्रह गर्दछु ।’

सामान्यतया एयर क्वालिटी इन्डेक्स (एक्युआई) ५० भन्दा माथि जानु खतराको संकेत हो । नेपालका प्रमुख शहरहरुमा त्यो संख्या अत्यधिक मात्रामा बढ्दै गएको छ ।
प्रदूषणले मानिसदेखि अन्य प्राणीको शरीरमा गम्भीर असर गरिरहेको छ । प्रदूषणबाट विशेष गरी बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित हुने भन्दै सचेत रहन स्वास्थ्यकर्मीले समेत आग्रह गरेका छन् ।

वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्‍ने जस्ता समस्या आउने गर्छ । नेपालमा वर्षेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगबाट ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । विश्वमा ७० लाख मानिसको मृत्यु वायु प्रदूषणकै कारण हुने गरेको छ ।


Author

थप समाचार
x