कर्णाली

सुर्खेतमा कुपोषित बालबालिका बढ्दै

इकागज |
साउन ५, २०७९ बिहीबार १५:३९ बजे

सुर्खेत । सुर्खेतमा कुपोषित शिशुको जन्मदर बढ्न थालेको छ । यसरी जन्मिने अधिकांश शिशुहरुको कम तौल रहेको पाइएको छ । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा सुर्खेतमा कम तौल भएका नवजात शिशुको जन्मदर ६ प्रतिशत थियो । आर्थिक वर्ष २०७७/०७८ मा ८ प्रतिशत पुगेको यो तथ्यांक २०७८/०७९ मा भने बढेर ११ प्रतिशतमा पुगेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

सामान्यतया गर्भावस्थाको समयावधि अगावै बच्चाको जन्म भएमा नवजात शिशुको शारिरीक तौलमा कमी आउने बालरोग विशेषज्ञ डा. नवराज केसी बताउँछन् । यसरी अवधि अगावै शिशुको जन्म भएमा शिशुको तौल सामान्य भन्दा कम हुने केसीको भनाई छ ।   


‘यसरी अवधि नपुगेर जन्मिएको बच्चाहरु कम तौलका हुन्छन्’ केसी भन्छन्, ‘गर्भवती अवस्थामा आमाको शारिरीक अवस्थाको कारण पनि हुन्छ, आमा आफैमा कुपोषित भए वा उमेर नपुगेको भएपनि बच्चामा असर गर्ने नै भयो ।’ त्यसैगरी आमामा सरसफाईको कमी, पोषणको कमजोर अवस्थालगायतले शिशुलाई असर पार्ने केसीको भनाई छ । 

पछिल्लो समय स्वास्थ्य संस्थामा आएर प्रसुती हुनेको संख्या बढेपनि कुपोषित बच्चा जन्मिने तथा आमाहरुमा पनि शारीरिक असर भने देखिएको पाइन्छ । सामान्यतया जन्मिने बच्चाको तौल साढे दुई केजी भन्दा बढी हुनुपर्छ तर, प्रदेश अस्पतालमा जन्मिने शिशुहरु हुनुपर्ने भन्दा कम तौलका जन्मन्छन् । अस्पतालमा आउने महिलाहरु दयनीय अवस्थाका आउने प्रदेश अस्पतालमा कार्यरत नर्सिङ  प्रमुख दीपा भट्टराईको भनाई छ । ‘कुपोषणको कारण आमाको स्वास्थ्य अवस्था कमजोर हुन्छ, त्यसमा बच्चाको अवस्था पनि कुपोषित हुन्छन्’ उनी भन्छिन्, ‘यसमा गर्भवती महिला र उनका घरपरिवारका सदस्यले समेत ध्यान दिनुपर्ने कुरा हो ।’
 


Author

थप समाचार
x