कर्णाली

कर्णाली प्रदेशसभाद्वारा दुई विधेयक सर्वसम्मतिले पारित

इकागज |
साउन ९, २०७९ सोमबार २१:३६ बजे

फाइल फोटो

सुर्खेत - कर्णाली प्रदेशसभाको बैठकमा दुईवटा विधेयक सर्वसम्मतिले पारित भएको छ । 

प्रदेशसभाको आज बसेको बैठकले ‘मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश लोक सेवा आयोगका पदाधिकारीहरुको पारिश्रमिक, सेवाका सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको हो ।


सभामुख राजबहादुर शाहीले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीलाई दुईवटै विधेयक समग्रमा पारितका लागि सभामा प्रस्ताव पेस गर्न अनुमति दिएसँगै बैठकले विधेयक पारित गरेको थियो । 

उक्त बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले शहीद स्मृति भत्ता र घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको जीवन निर्वाह भत्ता दिने गरी काम अगाडि बढाएको बताए । 

त्यसैगरी, नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाही र नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले बैठकमा आफ्ना धारणा राखे । सभाको अर्को बैठक यही साउन १६ गते दिउँसो ३ बजे बस्ने जानकारी सभामुख शाहीले गरेका थिए । रासस


Author

थप समाचार
x