कर्णाली

भारतमा संक्रमण बढेपछि धमाधम घर फर्किन थाले कर्णालीबासी

जितेन्द्र थापा |
चैत २७, २०७७ शुक्रबार १०:१ बजे

सुर्खेत : भारतमा कोभिड–१९ संक्रमितको संख्या बढेसंगै कर्णालीबासी धमाधम घर फर्किन थालेका छन् । भारतलगायत देशमा संक्रमण पुनः बढ्दै गएपछि कर्णालीमा फर्किने नागरिकको संख्या बढ्दै गएको हो ।  

चैत्र १३ गतेदेखि हालसम्म एक हजार ४०० जना पुरुष १६० जना महिला कर्णालीमा भित्रिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । भारतलगायत तेस्रो मुलुकबाट १३ जनागरी एक हजार ६२१ जना घर फर्केको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रामप्रसाद घर्ती मगरले जानकारी दिए ।


‘भारतामा संक्रमित थपिएसँगै नेपालमा पनि संक्रमण फैलिने डर भएकाले पहिलेजस्तै सामाजिक दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने जस्ता सावधानी अपनाउन अनुरोध छ’ उनले भने ।  भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएकोले नेपालमा पनि बढ्न सक्ने जोखिम भएकाले उच्च सर्तकता अपनाउन डाक्टरहरूले सुझाएका छन् । भारतमा संक्रमितको संख्या बढेकोले नेपालमा पनि बढ्न सक्ने भएकाले कोरोनाबाट बच्न आम नागरिकले पहिलेजस्तै उपाय अपनाउनुपर्ने प्रर्देश अस्पताल कालागाउँ सुर्खेतमा कार्यरत डा.नवराज केसी बताउँछन् । 

‘कोरोनाबाट जोगिन आम नागरिकले पहिलेजस्तै सावुन पानीले हात धुनुपर्छ, भिड्भाडमा मास्क लगाउने भौतिक तथा दूरी  कायम गर्नुपर्छ’ उनले भने । हाल कर्णाली प्रदेशका विभिन्न अस्पताल, आइसोलेसन सेन्टर, सुरक्षाकर्मी आइसोलेसन, अन्य संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा रहेका बिरामी सुर्खेतमा १८ जना रहेका छन् ।

तीमध्ये प्रदेश अस्पतालको आइसोलेसनमा १ जना होम आइसोलेसन वीरेन्द्रनगरमा १७ जनागरी जम्मा १८ जना आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको विज्ञप्तिमा उल्लेख छ ।  अहिलेसम्म चारहजार भन्दा धेरैलाई कोभिड–१९ संक्रमण पुष्टि भइसकेको छ भने हालसम्म २२ पुरुष नौ महिलाको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।


Author

थप समाचार
x