कर्णाली

एसईईको नतिजा सुधार्न सामुदायिक शिक्षामा लगानी बढाउनुपर्ने

इकागज |
साउन १३, २०७९ शुक्रबार २०:४० बजे

कर्णाली- राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा कर्णाली प्रदेश ‘कमजोर’ देखिएको छ । बोर्डले पहिलोपटक प्रदेशगत रुपमा सार्वजनिक गरेको नतिजाअनुसार कर्णालीमा ११४ परीक्षार्थीले मात्र ३.६ देखि ४ जीपीए अर्थात उच्च अङ्क ल्याए । 

शैक्षिक सत्र-२०७८ को एसईईमा कर्णाली प्रदेशबाट ३७ हजार तीन सय ६२ परीक्षार्थी सहभागी थिए । तीमध्ये नौ सय ५१ ले ३.२ देखि ३.६ जीपीए ल्याए । जसलाई ए-ग्रेड भन्ने गरिन्छ । सार्वजनिक प्रदेशगत नतिजाअनुसार कर्णालीका चार हजार ३५ परीक्षार्थीले २.८ देखि ३.२ जीपीए, आठ हजार ३८३ ले २.४ देखि २.८ जीपीए, १० हजार ७३ ले २.० देखि २.४ जीपीए, सात हजार ७७६ ले १.६ देखि २.० जीपीए, दुई हजार ९९४ ले १.२ देखि १.६ जीपीए, १७५ ले ०.८ देखि १.२ जीपीए ल्याए । प्रदेशगत रुपमा उच्च अङ्क ल्याउने परीक्षार्थी बागमती प्रदेशका सबैभन्दा बढी छन् । 


शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक दीपा हमालले प्रदेशगत रुपमा कर्णालीको नतिजा कमजोर हुनुमा विभिन्न तत्वको सम्मिश्रण रहेको बताए । 'प्रदेशको तुलना गर्दा यहाँ निकै कम विद्यार्थी परीक्षामा सहभागी हुन्छन्, त्यसले स्वभाविक रुपले प्रतिशतमा कम देखिने नै भयो,' उनले भने, 'कर्णालीको समग्र विकास, गरिबी, शैक्षिक विकास लगायतले नतिजामा प्रभाव पर्दछ ।' 

कोरोना महामारीका कारण अघिल्ला दुई शैक्षिक सत्रमा लिखित परीक्षा नभएपछि विद्यार्थीमा मनोवैज्ञानिक असर परेको निर्देशक हमालको भनाइ छ । 'गत वर्ष लिखित परीक्षा हुनु नै ठूलो कुरा थियो, परीक्षा हुन्छ की हुन्न भन्ने अन्योलकै बीचमा विद्यार्थी परीक्षामा सहभागी भएका हुन,' उनले भने । 

शैक्षिकसत्र २०७६ र २०७७ मा कोरोना महामारी बढ्दै गएपछि विद्यालय क्वारेन्टिनका रुपमा प्रयोग भए । जसले गर्दा भौतिक उपस्थितिमा पढाइ, परीक्षालगायतका शैक्षिक गतिविधि प्रभावित भएको थियो । ती दुई वर्ष विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसको आधारमा परीक्षा नियन्त्रण कार्यालयले प्रमाणीकरण गरी एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा बोर्डले यसपटक प्रदेशअनुसार अनिवार्य विषयको बेग्ला-बेग्लै प्रश्नपत्र बनाउनुका साथै उत्तरपुस्तिका पनि प्रदेशमै जाँच गर्ने व्यवस्था मिलाएको थियो । 

वीरेन्द्रनगर नगरपालिकाका शिक्षा उपसचिव धिरेन्द्रप्रसाद लम्सालले विषयगत शिक्षक दरबन्दी न्यून हुनु, शिक्षण सामग्री, पाठ्यपुस्तक समयमै उपलब्ध नहुनुजस्ता कारणले विद्यार्थीको सिकाइमा असर पुगेको बताए । कर्णाली प्रदेशमा पर्याप्त विषयगत शिक्षक नहुँदा अधिकांश विद्यालयले निजी स्रोतमा शिक्षक व्यवस्थापन गर्दै आएका छन् । पछिल्ला वर्ष कोरोना महामारीका कारण कक्षा ८, ९ र १० को पढाइ नियमित हुन सकेको थिएन । शिक्षा उपसचिव लम्सालका अनुसार यसपटक नतिजा कमजोर आउनुमा अनलाइन कक्षा प्रभावकारी बन्न नसक्नु, पढाइ नियमित नुहुन, विषयगत शिक्षकको कमी हुनु नै मुख्य कारण हो । 

एसईईको नतिजा सुधार्न प्रदेश र स्थानीय सरकारले सामुदायिक शिक्षामा लगानी बढाउनुपर्ने सरोकारवालाको सुझाव छ । शिक्षाका लागि राष्ट्रिय अभियानका सुर्खेत संयोजक टिकाराम आचार्यले विषयगत शिक्षकको दरबन्दी व्यवस्थापन गर्नुपर्ने, समयमै पुस्तक उपलब्ध गराउनुपर्ने, तल्ला कक्षाबाटै पढाइको गुणस्तर सुधारमा ध्यान दिन सके एसईईको नतिजामा उल्लेख्य सुधार आउने टिप्पणी गरे ।


Author

थप समाचार
x