कर्णाली

दलित महिलाको भोगाइ

'दमाईकी छोरी भनेर पिँडीमा सुताए'

लक्ष्मी भण्डारी |
चैत २९, २०७७ आइतबार ७:५४ बजे

सुर्खेत : आफूहरूमाथिको जातीय विभेद भए पनि वीरेन्द्रनगरकी पुष्पा नेपालीलाई त्यसको कुनै प्रवाह थिएन । बाल्यकालमा यस्ता विभेद स्वाभाविक प्रकृतिको जस्तै लाग्थ्यो । लाग्छ की यो नै जिन्दगी हो भनेर विभेदलाई सहर्ष स्वीकार गर्थिन् । जबदेखि आफूमाथि गरिएको विभेद पनि हिंसा हो भन्‍ने जागृत भयो तबदेखि खुलेर यसको विरोध गर्न थालिन् । त्यति मात्र होइन  टोल तथा समुदायमा विभेदविरुद्धको आवाज बुलन्द बनाउँदै अघि बढिन् । 

पुष्पा सानै छँदा हजुरआमासँग गाउँमा जाने गर्थिन् । गाउँमा पुजाआजा तथा विवाह भएमा उनीहरूलाई कपडा सिलाउनको लागि बोलाउने गर्थे । उनीहरूले सिलाएका कपडा सुनपानी छर्केर भित्र लग्थे । उनीहरूलाई बाहिर अलग्गै बसालेर खुवाउँदा उनलाई अचम्म लाग्थ्यो । ‘एकपटक म सानै छँदा हजुरआमासँग गाउँमा पुजामा गएको थिएँ त्यहाँ हजुरआमाले कपडा सिलाउनुभयो’ विगत सम्झँदै उनले भनिन्, ‘त्यहाँ हामीलाई अलग्गै खान दिइयो र पिँढीमै सुताइयो ।’


पुष्पा सानै भएकाले यो आफूहरूमाथि भएको हिंसा हो भन्‍ने थाहा थिएन । उनलाई लाग्थ्यो यो स्वाभाविक प्रक्रिया होला । तर, आफूहरूमाथि भएको जातिय विभेदको विषयमा जब थाहा पाउने भइन् त्यतिबेलाबाट विभेदको सामना गर्नुपर्दा मन कुडिन्थ्यो । 

२०५४ सालमा विवाह बन्धनमा बाँधिएपछि पुष्पा घर व्यवहारमा व्यस्त भइन् । त्यतिबेला उनी एसएलसी उर्तीण भएकी थिइनन् । एसएलसी दिनलाई २०७० सालमा जुम्ला पुगिन् । त्यहाँ उनी आफ्नो साथीको घरमा बस्‍नुपर्ने भयो । जब उनी साथीको घरमा पुगिन् सबैभन्दा पहिले जात सोधियो । ‘दमाईकी छोरी भनेपछि बाहिर पिढीमै सुताए’ उनले भनिन्, ‘दमाईकी छोरी भएकाले बाहिर पीढिमै सुत्दा रातभरी निद्रा लागेन । मनभरी कुरा खेलिरहे ।’

अधिकारकर्मीको रुपमा गाउँमा हिँड्दा यस्ता खालका थुप्रै हिंसाको सामना गरेकी छन् । मात्र फरक भनेको परिवेश र पात्र पात्र हुन्थ्यो । अहिले दलित अधिकारकर्मीको रुपमा काम गरिरहँदा पनि प्रत्येक पाइलामा हिंसाको सामाना गर्न बाध्य भएको पुष्पाको भनाई छ । ‘पहिलाको विभेद फरक हुन्थ्यो अहिले अलि फरक छ’ उनी भन्छिन् ‘तर, जति कुरा गरे पनि जातीय विभेद भित्रदेखि नै जकडिएको छ ।’ अहिले एडभान्स खालको विभेदको सामना गर्नुपरेको पुष्पाको भनाई छ ।

यति फरक छ की पहिला हिंसा स्वीकार गर्ने पुष्पा अहिले त्यसको प्रतिकार गर्ने गरेकी छन् । टोल तथा समुदायमा आमा समूहमा आवद्ध भएर विभेदको विषयमा जागरण ल्याउने गरेकी छन् । गाउँमा कोही दलित समूदायलाई अप्ठेरो परेमा उनीकहाँ आउने गर्छन् । पुष्पाले आफूले सकेसम्मको उनीहरूको समस्या समाधान गर्ने गर्छिन् ।

‘गाउँमा विवाद भए पनि मिलाइदिन मेरो घरमा आउने गर्छन्’ उनी भन्छिन्, ‘सबैभन्दा त दीदीबहिनीका पीडामा मलम लगाउन पाउँदा खुसी लाग्छ ।’ वीरेन्द्रनगर नगरपालिकामा नौ वर्षसम्म मेलमिलापकर्ताको रुपमा काम गरेर अनुभव बटुलेकी पुष्पा अहिले गाउँमा हुने विवाद समाधान गर्ने गरेकी छन् ।

अहिले उनी जिल्ला अदालत सुर्खेतमा सूचीकृत मेलमिलापकर्ताको रुपमा काम गरेकी छन् । ‘पीडामा परेका दिदिबहिनीको समस्या समाधान गर्ने गरेकी छु’ उनी भन्छिन्, ‘समाज सेवा गर्दा पैसा नभए पनि सन्तुष्ट छु ।’

संविधानको मौलिक हकमा नै जातीय विभेदविरुद्धको हकको व्यवस्था भएता पनि कार्यान्वयन भने हुन सकेको छैन । जातीय विभेदका घटनामा कारवाही हुन नसक्दा पनि यस्ता घटनाहरू जकडिएका छन् ।

जातिय विभेदका घटनामा राजनीतिकरण हुँदा पनि समस्या भएको पुष्पाको भनाई छ । ‘दलित समूदाय पहुँचविहन छ उनीहरूको मुद्दा सकभर बाहिर आउँदैनन’ उनी भन्छिन्, ‘यदि आइहाले भने पनि घटनामा राजनीतिकरण हुने र कार्यान्वयन तहसम्म पुग्‍न समस्या भएको छ ।’

‘प्रत्येक पाइलापिच्छे विभेद भोग्‍नु परेको छ’ पुष्पा भन्छिन्, ‘शति प्रथा उन्मुलन भएजस्तै जातिय विभेद किन उन्मुलन हुन सकेन ?’ उनले प्रश्न गरिन्, ‘कुकुरलाई भन्दा पनि तल्लो स्तरको व्यवहार हामीलाई भइरहेको छ ।’


Author

थप समाचार
x