कर्णाली

धनिराम लामिछाने मृत्यु प्रकरण : कर्णाली प्रदेश सरकारद्वारा छानबिन समिति गठन

इकागज |
भदौ ३, २०७९ शुक्रबार २१:१६ बजे

फाइल तस्बिर

कर्णाली- कर्णाली प्रदेश सरकारले लेकबेसी नगरपालिका १० सुर्खेतका ५९ वर्षीय धनिराम लामिछानेको मृत्युको सत्यतथ्य ल्याउन छानबिन समिति गठन गरेको छ । 

प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिको सदस्यमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव, जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक/एक अधिकृत र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक सदस्य रहेका छन् ।


उक्त समितिलाई घटनाको यथार्थ विवरणसहितको प्रतिवेदन ल्याउन सात दिनको समयसीमा दिइएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार लामिछाने मृत्यु घटनाका आरोपित कर्मचारीलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिइएको छ ।

लामिछानेका आफन्तले वन कार्यालयका चारजना कर्मचारीविरुद्व किटानी जाहेरी निवेदन दिएका छन् । जसमा सहायक वन अधिकृत, फरेष्टर, दुई वन रक्षक रहेका छन् । वन कार्यालयका कर्मचारीले कार्यालय प्रमुखको आदेश अनुसार सालको रुख काट्दै गरेका लामिछानेलाई लिएर वन कार्यालयमा बुझाएको तर उनको मृत्युमा आफूहरूको कुनै कसुर नभएको बताएका छन् ।

कर्तव्य पालना गर्दा बिहीबारदेखि नै पक्राउ पूर्जी र उजुरी विना प्रहरी हिरासतमा राख्दा मनोबल गिरेको र आफूहरु अन्यायमा पारेको उनीहरुले गुनासो गरेका छन् । कर्मचारीले लामिछानेलाई बिहीबार वन कार्यालय पुर्‍याएर इजलास कक्षमा राखेको समयमा बेलुका ५ः१० बजे झ्यालमा घुँडा टेकेर झुण्डिएको अवस्थामा भेटिएको थियो ।


Author

थप समाचार
x