कर्णाली

सुर्खेतमा देउसी-भैलो खेले कारवाही, मेला लगाउन नपाइने

लक्ष्मी भण्डारी |
कात्तिक २५, २०७७ मगलवार १८:११ बजे

सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिहारको समयमा देउसी भैलो नखेल्न आग्रह गरेको छ । चाडवाडको समयमा देउसी भैलोसँगै भिडभाड हुने खालका कुनै पनि कार्यक्रमहरु गरेको पाइएमा कारवाही गरिने प्रशासनले जनाएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देउसी भैलो कार्यक्रमलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । त्यसैगरी बेलुका सात बजेबाट अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्न पनि प्रशासनले आग्रह गरेको छ ।


बेलुका ७ बजेपछि अत्यावश्यक बाहेकका कुनै पनि पेशा व्यवसाय, लामो दुरीका सवारी साधन बाहेकका सबै सवारी साधनहरु पनि सञ्चालन गर्नमा रोक लगाएको रेग्मीको भनाइ छ । 

अनावश्यक रुपमा जमघट भएको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग अनुसार कारवाही गरिने रेग्मी बताए । यो वर्ष तिहारलगतै स्थानीय स्तरमा आयोजना गरिने मेलाहरु तथा जात्रा पर्वहरु पनि संञ्चालन हुने छैनन् । तिहार सकिएलगतै गुर्भाकोट नगरपालिकामा लाग्ने शुभाघाट तथा मालारानीमा आयोजना हुने मेला लगाउन रोक लगाइएको छ ।

‘कोभिडको संक्रमण अझै बढ्ने देखिएकाले यस्ता जमघट हुने कार्यक्रमहरुलाई रोक्नुपर्ने देखिएको छ’ रेग्मीले भने, ‘अर्कातर्फ  यस्ता खालका जमघटले गर्दा घटना, दुर्घटना, सामाजिक विकृती तथा अपराधलाई बढवा दिने भएकाले पनि यस्ता कुन पनि गतिविधि नगर्न अनुरोध गरेका छौ’ । 

त्यसैगरी प्रशासनले तिहारमा पटकाहरु पट्काउने र बेचविखनको कार्यलाई पनि रोक लगाएको छ । ‘कोभिडको  माहामारीको बेलामा भिडभाड नै हुने भयो, चाडवाडमा रातविरात झगडा हुने सम्भावना छ’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘चाडवाडको समयमा अनावश्यक रुपमा जमघट हुने र यसको कारण विभिन्न घटना घट्ने सम्भावनालाई मध्यनजर गर्दै जमघट हुन रोक लगाएका हौ ।’

‘चाडबाड लक्षित सुरक्षा योजना पनि छ र सोही अनुसार पनि हामी बढ्छौ’ रेग्मीले भने, ‘हामी अवस्था हेरेर पनि कारवाहीको प्रक्रियालाई अघि बढाउँछौ ।’ त्यसैगरी जुवातास खेलेको वा खेलाएको खण्डमा कारवाही गरिनुका साथै राजनीतिक भेला, सम्मेलन र सभा लगायतका अत्याधिक भिडभाड हुने कुनै पनि गतिविधि आयोजना नगर्न राजनीतिक दलहरुलाई पनि प्रशासनले आग्रह गरेको छ ।
 


Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x