मुगुमा एक किलो नुनकाे ७५ रुपैयाँ
फाइल तस्बिर
मुगु- जिल्लाको उत्तरी व्यापारी नाका नाक्चेलाग्ना ह्याजीमार तीन वर्षदेखि सुनसान बनेको छ । हरेक वर्ष साउन १५ देखि अन्तिम साउनसम्म १५ दिनका लागि खुल्ने उक्त व्यापारी नाका कोरोना महामारीका कारण यो वर्ष पनि नखुल्दा स्थानीय कार्मारोङबासी निराश बनेका हुन् ।
१५ दिनका लागि अस्थायी रूपमा खोल्ने व्यापारी केन्द्रबाट यस पालिकाका स्थानीय वर्षभरिको लागि खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामान किनमेल गर्न त्यस क्षेत्र पुग्ने गर्थे ।
कोरोना महामारीका कारण तीन वर्ष यता उक्त व्यापारी नाका ठप्प हुँदा स्थानीय कर्मचारी, व्यापारी र सर्वसाधारण मारमा परेका मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।
सुर्खेत नेपालगन्जदेखि सामान किनेर ढुवानी गर्दा बस्तुको मूल्यभन्दा ढुवानीको मूल्य चार पाँच गुणा बढी पर्ने गरेको उनको भनाइ छ । उक्त नाका अस्थायी व्यापारी नाका नखोल्दा स्थानीय महँगो पैसामा खाद्यान्न किनेर दैनिक जोहो गर्न बाध्य भएको उनले बताए ।
तीन वर्षदेखि उत्तरी व्यापारी नाका बन्द हुँदा खाद्य बस्तु, लत्ताकपडा लगायत दैनिक उपभोग्य बस्तुको जोहो गर्न कठिनाइ भएको मुगुम कार्मारोङ गाउँपालिका २ की फुटी लामाले बताइन् । यो वर्ष पनि भदौ पहिलो साता बित्न लाग्दा पनि नाका खुल्ने नखुल्ने कुनै निश्चित नभएको उनको भनाइ छ ।
तिब्बती व्यापार नाकाबाट खाद्यान्न लगायतको उपभोग्य बस्तु ल्याएर बाँच्ने गरेको डोल्फु गाउँका ग्याल्जन लामाले बताए । नाका नखुले आफूहरूलाई परिवार पाल्न मुस्किल हुने उनले गुनासाे गरे ।
साउन १५ देखि मसान्तसम्म खोलिने नेपाल र तिब्बतको सिमाना ह्याजीमारामा तिब्बती व्यापारीले अस्थायी हाट बजार सञ्चालन गर्ने र उक्त हाट बजारमा मुगम कार्मारोङ गाउँपालिकाका मुगु, चितै, डोल्फु,ताखा, खारी, किम्री, रिउस, पुअ, मह मांग्री लगायत १७ वटा बस्तीबाट स्थानीय व्यापारी, सर्वसाधारण खाद्य बस्तु, नुन, तेल लत्ताकपडा किन्न उक्त नाकातिर ओइरो लाग्ने गर्थे ।
तिब्बतबाट सामान ल्याउन कसैले घोडा खच्चर, चौरी झोबा गधा लगायत माल बस्तु लिएर सामान ढुवानी गरेर ल्याउने गरेको किम्रीगाउँका जिक्टोल लामा बताउँछन् ।
उत्तरी व्यापारी नाका बन्द हुँदा आफूहरूमा गरिबी समेत बढेको उनको भनाइ छ । खेत गरामा अन्नबाली समेत उत्पादन हुन छोडेको र उत्तरी व्यापारी नाका पनि तीन वर्ष यता बन्द हुँदा जीवनयापन गर्न कठिनाइ भएको उनी बताउँछन् ।
२५ केजी चामलको मुगु सदरमुकाम गमगढीमा १८ सयदेखि दुई हजार दुई सयसम्म पर्छ । भने मुगम कार्मारोङका विभिन्न गाउँ बस्तीसम्म पुग्दा ६ हजारसम्म पर्ने गरेको स्थानीयको भनाइ छ । एक केजी नुनको सदरमुकाममा ९ रुपैयाँ पर्छ भने कार्माङमा ७५ रुपैयाँसम्म पर्ने गरेको छ ।
सामान किनेको मूल्यभन्दा ढुवानी महँगो पर्ने भएकाले स्थानीय मर्कामा परेका छन् । सुर्खेत नेपालगन्जमा एक हजार दुई सयदेखि एक हजार ८ सयसम्म पर्ने चामल मुगु सदरमुकाम पुर्याउन प्रति केजी १२ रुपैयाँ ढुवानी पर्ने गरेको छ । न्युज कारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया