सुर्खेतमा पनि निर्वाचनको तयारी, मतदाता अद्यावधिक गर्दै आयोग
सुर्खेत- आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कर्णालीमा पनि तीव्र तयारी गरिएको छ । प्रदेश निर्वाचन आयोगले चुनाव पूर्वका कामको कार्यतालिका बनाएर अघि बढेको छ । अहिले आयोगका जिल्ला कार्यालयहरूले मतदाता नामावली अद्यावधिकको कार्य सुरू गर्न लागेका छन् ।
कार्यतालिका अनुसार भदौ १२ गते नामावली प्रकाशन गरेर भदौ १९ गतेसम्म मतदाता नामावली अद्यावधिक र दाबी विरोधको समय तय गरिएको छ । कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने र नामावली गल्तीरहित गराउनेतर्फ ध्यान केन्द्रित गरिएको जानकारी दिए । यही विषयमा प्रदेश निर्वाचन कार्यालयले सुर्खेतस्थित राजनीतिक दलका प्रतिनिधि र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसँग छलफल पनि गरेको छ ।
प्रदेश निर्वाचन कार्यालयले मतदाता नामावलीको त्रुटि सच्याउने काम सुरू हुने भएकाले यसमा प्रभावकारी रूपमा आ-आफ्नो ठाउँबाट सहजीकरण गर्न आग्रह गरेको चालिसेले बताए । निर्वाचन कार्यालयले सुर्खेतका नौ वटै स्थानीय तहमा मतदाता नामावली दाबी विरोध कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरोकारवाला निकायसँग आवश्यक छलफल र समन्वय गरेको हो ।
निर्वाचन अधिकारी चालिसेका अनुसार आइतबार सम्बन्धित स्थानीय तहका वडा कार्यालय र प्रमुख दर्ता अधिकारीको कार्यालयमार्फत मतदाता नामावली प्रकाशन गरिने छ । सोमबारदेखि बुधबारसम्म मतदाता नामावलीमा रहेको गल्ती सच्याउन सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने, सोही दिन मतदाता नामावलीमा कसैले झुट्टा विवरण दिइ नाम समावेश गरेको भए विरोध उजुरी दिन पाइने छ ।
मतदाताको नामावली एक स्थानभन्दा बढीमा भए एक ठाउँमा मात्र कायम गर्न निवेदन दिने समय पनि छुट्याइएको छ । भदौ १३ देखि १६ गतेसम्म नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउने र यस्तो विवरण स्थानीय पञ्जीकरणबाट प्राप्त गर्ने बताइएको छ ।
त्यस्तै, उजुरी परेका मतदाताहरूलाई प्रमाणसहित सफाइको मौका दिइनेसमेत निर्वाचन कार्यालयले जनाएको छ । भदौ १३ देखि १७ गतेसम्म स्थानीय पञ्जीकरणबाट प्राप्त विवरणको आधारमा बसाइँ सरी अन्यत्र गएका वा मृत्यु भएका मतदाताको हकमा जाँचबुझ हुनेछ ।
प्रदेश निर्वाचन अधिकारी चालिसेका अनुसार भदौ १६ देखि भदौ १७ गतेसम्म उक्त मतदाताहरूको प्रमाणित हुन आएमा नाम हटाउने, १७ देखि १८ गतेसम्म मतदाताले दिएको सफाइको आधारमा मतदाताको नामावलीबाट हटाउने वा राख्ने सम्बन्धमा प्रमुख नाम दर्ता अधिकारीले निर्णय गर्ने उल्लेख छ ।
सुर्खेतमा दुई लाख ४७ हजार चार सय मतदाता रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया