कर्णाली

नगरपालिकाद्वारा डाक्टर पढाउन छात्रवृत्ति सम्बन्धी ऐन जारी

इकागज |
भदौ १३, २०७९ सोमबार १४:४३ बजे

सुर्खेत- सुर्खेतको लेकबेशी नगरपालिकाले एमबीबीएस डाक्टर पढाउने तयारी गरेको छ । नगरपालिकाले हरेक वर्ष पालिकाबाटै एक जना एमबीबीएस डाक्टर जनशक्ति उत्पादन गर्ने गरी एमबीबीएस अध्ययन छात्रवृत्ति सम्बन्धी ऐन, २०७९ जारी गरेको छ ।

नगरपालिका भित्रकै जेहेन्दार र गरिब विद्यार्थीलाई निःशुल्क एमबीबीएस डाक्टर पढाउने गरी ऐन ल्याएको हो ।


आफ्नै पालिकाको बजेट स्रोत, लगानीबाट हरेक वर्ष एक/एक जना डाक्टर उत्पादन गर्ने गरी लेकबेशी नगरपालिकाले एमबीबीएस अध्ययन छात्रवृत्ति सम्बन्धी ऐन, २०७९ जारी गरेको नगर प्रमुख उमेशकुमार पौडेलले बताए । आफ्नो पाँच वर्षीय कार्यकालमा पाँच जना विद्यार्थीलाई निःशुल्क डाक्टर पढाउने उद्देश्यले सबै तयार सकेर ऐन जारी गरिएको मेयर पौडेलको भनाइ छ ।

ऐन जारी भएसँगै लेकबेशी नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई निःशुल्क डाक्टर पढाउने छ । ऐनबाटै एमबीबीएस डाक्टर अध्ययनका लागि छनाेट प्रक्रिया, आवेदन प्रक्रिया, आर्थिक स्रोत सहयोग प्रक्रिया, आवश्यक सर्तहरू उल्लेख गरिएको छ । एमबीबीएस अध्ययन छात्रवृत्ति छनाेट समिति, आवश्यक योग्यता, क्षमता सबै ऐनमा उल्लेख गरिएको छ ।

ऐन अनुसार नगरपालिकाले हरेक वर्ष एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि अक्षय कोषमा ५० लाख बजेट विनियोजन गर्ने भएको छ । हरेक वर्षमा त्यही ५०–५० लाख कोषमा जम्मा गर्ने र एक/एक जनालाई डाक्टर अध्ययनका लागि रकम सहयोग गरिने मेयर पौडेलले बताए । यसरी नगरको रकमबाट निःशुल्क एमबीबीएस पढ्ने डाक्टरले पाँच वर्ष नगरभित्र सेवा गर्नुपर्ने सर्त समेत राखिएको छ ।

नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकी भएपनि विशेषज्ञ डाक्टरहरू नहुँदा स्थानीयले उपचार नपाएको भन्दै पाँच वर्षको अवधिमा छात्रवृत्ति मार्फत डाक्टर पढाउने निर्णय नगरपालिकाले गरेको नगरप्रमुख पौडेलको भनाइ छ  ।


Author

थप समाचार
x