कर्णाली

कर्णाली प्रदेश खाद्य परिषद् गठन गर्न माग

इकागज |
भदौ २३, २०७९ बिहीबार २१:४४ बजे

फाइल फोटो

कर्णाली - खाद्य अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरुले ‘कर्णाली प्रदेश खाद्य परिषद्’ गठन गर्न माग गरेका छन् । खाद्य उत्पादन, अधिकार र सम्प्रभूता सुनिश्चितता ऐन, २०७७ मा भएको व्यवस्थाबमोजिम प्रदेश सरकारलाई तत्काल उक्त परिषद् गठन गर्न सरोकारवालाले आग्रह गरेका हुन् । 

कर्णाली प्रदेशमा कार्यरत खाद्य अधिकारकर्मीहरुले परिषद् गठनका सम्बन्धमा आज भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीको ध्यानाकर्षण गराएका थिए । खाद्य उत्पादन, अधिकार र सम्प्रभूता सुनिश्चितता ऐनको दफा ३३ मा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको अध्यक्षतामा ‘प्रदेश खाद्य परिषद्’ गठनको व्यवस्था गरिएको छ । ऐनको आधारमा मन्त्रालयले परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी नियमावली बनाइसकेको छ । 


जिल्ला खाद्य अधिकार सञ्जाल सुर्खेतका अध्यक्ष जगत केसीले प्रदेश खाद्य परिषद् गठन र सञ्चालनसम्बन्धी कार्यविधिको नमूना मस्यौदा मन्त्रालयलाई हस्तान्तरण गरेको जानकारी दिए । खाद्यसम्बन्धी मौलिक हक कार्यान्वयनका लागि ऐनबमोजिमको संस्थागत संरचना गठन गर्नु जरुरी रहेको उनको भनाइ छ । 

अधिकारकर्मीहरुको ध्यानाकर्षणपत्र बुझ्दै भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाहीले आगामी बस्ने मन्त्रिपरिषद् बैठकमा मन्त्रालयले परिषद् गठनसम्बन्धी प्रस्ताव लैजाने प्रतिबद्धता जनाए । उनले भने, “परिषद् गठनको गृहकार्यमै छौँ, प्रस्ताव अन्तिम चरणमा पुगेको छ, अबको १० दिनभित्र मन्त्रिपरिषद् बैठकमा यो प्रस्ताव लैजान्छौँ ।”
–––


Author

थप समाचार
x