कर्णाली

कर्णाली प्रदेशसभा बैठक

यसरी सुरु हुँदैछ कर्णालीका मुख्यमन्त्रीले विश्‍वासको मत लिने प्रक्रिया

लक्ष्मी भण्डारी |
बैशाख ३, २०७८ शुक्रबार १२:१४ बजे

सुर्खेत : कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्र्तगत पहिलो बैठक आज दिउँसो बस्दैछ । सरकार नै फेरबदलको टुंगो लाग्ने भएकाले सबैको ध्यान बैठकतिर गएको छ । प्रदेश राजधानी सुर्खेतस्थित चोक तथा चिया पसलहरूमा कर्णाली प्रदेशसभाको बैठकको विषयमा चर्चा चलेको छ । सानादेखि ठूला चिया पसलहरूमा विभिन्न समूहमा सरकार परिवर्तनका विषयमा आफ्ना विचारहरू व्यक्त गरेका छन् । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाही अहिल ेपनि अन्य दललाई फकाएर विश्वाशको मत जुटाउने प्रयत्नमा छन् भने एमाले एकढिक्का भएर अघि बढ्ने कसरतमा लागेको छ । यता काँग्रेस र राप्रपा भने आफूहरू कतातिर बाटो लाग्दा फाइदा हुन्छ भन्ने विचार गरिरहेका छन् । यता एमाले संसदीय दलको बैठक बसिरहेको छ भने काँग्रेसका सांसदहरू पनि एकै ठाउँमा बसेर छलफलमा लागेका छन् । 


संसद सचिवालयकाअनुसार शुक्रबार बस्ने बैठकका लागि छ वटा कार्यसूची बनाइएको छ । संसद् बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त संसद आह्वानसम्बन्धीको पत्र पढेर सुनाइने कार्यक्रम छ । त्यसपछि मन्त्रालयहरूको जिम्मेवारी हेरफेरको पत्र प्रस्तुत गरिने छ । 

बैठकमा तेस्रो कार्यसूचीमा धर्मराज रेग्मीको सांसद पद रिक्त भएको जानकारी गराइने छ । तत्कालीन माओवादी केन्द्रबाट दैलेख क्षेत्र नं. १ ‘क’बाट निर्वाचित सांसद रेग्मी एमालेमा प्रवेश गरेपछि सम्वन्धित दलले कारबाही गरेको छ । चौथो कार्यसूचीमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका एक–एक जना माननीयहरूले बोल्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी गराए ।  

संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरुले बोलेपछि एक घण्टाका लागि संसद बैठक स्थगित हुनेछ । त्यसपछि मुख्यमन्त्री शाहीले प्रदेश लोकसेवा आयोग सम्वन्धिको संशोधन र प्रशासनिक कार्यविधि संशोधन सम्वन्धीका विधेयक प्रस्तुत गर्नेछन् । उक्त विधेयकहरु पारित भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ ।  


Author

थप समाचार
x