कर्णाली

जब कर्णाली प्रदेश सभा त‌रंगित बन्यो !

एमाले सांसदले यसरी 'फ्लोर क्रस' गरे र मुख्यमन्त्रीको पद जोगियो

लक्ष्मी भण्डारी |
बैशाख ३, २०७८ शुक्रवार १९:३९ बजे

सुर्खेत :  शुक्रबार दिउँसो साढे दुई बजेबाट कर्णाली प्रदेशसभाको बैठक सुरु भयो ।  बैठकको सुरुवातमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नतिजा आफ्नै पक्षमा हुन्छ भन्नेमा ढुक्क थिए । बैठक सुरु हुनुअघि संसदीय दलको बैठक बैठक बोलाएर कँडेलल सरकारविरुद्ध अविश्वास मत दिन ह्वीप जारी गरेका थिए । 

बैठकको सुरुवातमा सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । रिक्त रहेका मन्त्रालयको जिम्मेवारी वाचनपछि माओवादी छोडेर एमालेमा प्रवेश गरेका सांसद धर्मराज रेग्मीको स्थान रिक्त रहेको जानकारी गराइयो । जब कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसद्बाट आफुलाई विश्वासको मत दिन आग्रह गरे । बैठकमा उपस्थित सबै सांसद मुखामुख गरे ।


सबैको अनुमान थियो एमालेका सांसदको प्रतिनिधित्व धेरै भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाउँदैनन् । तर, जब प्रमुख प्रतिपक्षि दलका नेता जिवनबहादुर शाही सरकारको पक्षमा उभिए तब संसद् बैठकको माहौल एकाएक परिवर्तन भयो । प्रतिपक्षी दलका नेता नै सरकारको पक्षमा उभिएपछि संसद् बाहिर रहेका माओवादी कार्यकर्ताले ताली बजाए । 

जब संसद्मा मतदान सुरु भयो सँगै बसेका मुख्यमन्त्री शाही र एमाले संसदीय दलका नेता कँडेल निकै आत्तिएका देखिन्थे । उनीहरू मत कसको पक्षमा पर्छ भन्नेप्रतिक्षामा थिए । सरकारको पक्षमा उभिएका एमालेका चार जना सांसदले फ्लोर क्रस गरेपछि सबै अचम्ममा परे । यता विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री शाहीले खुसी व्यक्त गरे । कर्णाली सरकारले सबैको विश्वास जितेको बताए । 

‘एमाले संसदीय दलले मलाई दिएको समर्थन फिर्ता लिएपछि पनि अहिले संसद्बाट विश्वासको मत प्राप्त गरेँ’, उनले भने,‘अहिले मुख्यमन्त्रीलाई विश्वासको मत छ भन्ने कुरा उहाँहरूले व्यक्त गरिसक्नुभएको छ ।’ 

माओवादी केन्द्र, कांग्रेस र एमालेका माधवकुमार नेपाल समूहले शाहीको पक्षमा मतदान गर्दा मुख्यमन्त्री पद जोगिएको छ । नेपाल समूहका प्रकाश ज्वालाको नेतृत्वमा एमालेका कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् । ४ जना सांसदले फ्लोर क्रस गरेर मतदान गरेका थिए । शाहीको पक्षमा २२ र विपक्षमा १५ मत परेको छ । राप्रपाका सांसद शोशिला शाही भने विश्वासको मत पक्ष विपक्षमा नरही तटस्थ बसिन् । 

फ्लोर क्रस गरेर विश्वासको मतको पक्षमा मतदान गर्ने सांसदहरुलाई एमाले संसदीय दलको बैठकले कारवाही गर्ने सिफरिस गरेको छ ।  प्रमुख सचेतक गुलाबजंग शाहले चार जना सांसदलाई पार्टी सदस्यता नरहनगरी कारवाहीको लागि सिफारिस गरिएको बताए । 


Author

थप समाचार
x