Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

कर्णाली

महासंघको केन्द्रीय साधारणसभा सुर्खेतमा हुने

इकागज |
असोज १५, २०७९ शनिबार १७:४० बजे

सुर्खेत- आगामी पौष ८ र ९ गते नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुर्खेतमा हुने भएको छ ।

आज महासंघ सुर्खेत शाखाले आयोजना गरेको विजया दशमी, दीपावली, छठ पर्वको शुभकामना आदानप्रदान तथा केन्द्रीय साधारणसभाबारे छलफलमा महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले महासंघको नगरकोट बैठकले आगामी साधारणसभा सुर्खेतमा गर्ने निर्णय भएको जानकारी दिए ।


कोषाध्यक्ष सेजुवालले कर्णालीमा पहिलो पटक हुन लागेको केन्द्रीय साधारणसभा गौरवको विषय भएकाले सफल पार्न लाग्नुपर्ने औँल्याए । कार्यक्रमका लागि आर्थिक स्रोतको पहिचान, आगन्तुकहरूलाई आवास तथा सत्कार जस्ता मुख्य पक्षलाई ध्यान दिएर अगाडि बढ्नु पर्नेमा सेजुवालले जोड दिए । उनले २०१२ सालमा स्थापना भएको महासंघका कुनै पनि केन्द्रीय स्तरका कार्यक्रम कर्णालीमा हुन नसक्नु विडम्बना भएको भन्दै संघीयता कार्यान्वयन पश्चात प्राप्त मौकालाई अवसरका रूपमा लिनु पर्ने बताए ।

महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले आर्थिक स्रोतहरूको खोजी गरिनु पर्नेमा जोड दिए । विगतमा संघीय सरकारले महासंघलाई विभिन्न कार्यक्रमका लागि आर्थिक सहयोग गर्दै आएको र अब प्रदेश सरकार र स्थानीय सरकारसँग पनि सहकार्य गर्न सकिने बताए ।

यस्तै सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले कार्यक्रम सफल पार्न महासंघमा आबद्ध सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रममा सहभागी पत्रकारहरूले ठूलो संख्यामा प्रतिनिधिहरू सहभागी हुन आउने भएकाले आगन्तुकको व्यवस्थापनमा ध्यान दिइनु पर्ने बताए । साधारणसभमा देशभरबाट करिब सात सय जना महासंघका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुने महासंघले जनाएको छ । 


Author

थप समाचार
x