कर्णाली

कर्णालीमा राप्रपाका एक्ली सांसदको चेतावनी : ‘सिट नदिए दर्शक दिर्घामा बस्छु’

लक्ष्मी भण्डारी |
बैशाख ७, २०७८ मंगलबार ७:१८ बजे

सुर्खेत : बैशाख ३ गतेको कर्णाली प्रदेशसभाको बैठकमा सांसद शोसिला शाहीलाई कुन् सिटमा बस्‍ने टुंगो थिएन । शाहीलाई सिटको टुंगो नलाग्दासम्म एकछिन उभिन बाध्य भइन् । बैठक सुरु हुन लागेपछि पछाडिको सिटमा बस्‍ने व्यवस्था भयो । आफूमाथि संसद्‌बाटै विभेद भएको शाहीले बताइन् ।

‘कहिले अगाडि बसालिन्छ, कहिले पछाडि बसालिन्छ । किन एकै ठाउँमा बस्‍ने व्यवस्था नभएको होला’ शाहीले भनिन्, ‘राप्रपाबाट म मात्र एक्लो सांसद भएर विभेद भएको होला जस्तो लाग्छ ।’ महिला भएकै कारण संसद्‌बाटै विभेद भएको उनको आरोप छ । ‘प्रदेशसभाका अघिल्ला बैठकहरूमा अगाडि बसालिएको थियो र पछि पछाडि बसालियो’ उनले भनिन्, ‘अहिले आएर फेरि कहिले अगाडि कहिले पछाडि हुन्छ निश्चित ठाउँ  हुँदैन ।’ प्रमुख प्रतिपक्षी दल नभए पनि प्रतिपक्षी दलको रूपमा सहभागिता जनाएकोले त्यो अनुसारको व्यहार हुनुपर्ने उनको भनाइ छ । 


‘म सिटको लागि लोभिएको होइन र प्रदेशसभामा पनि जनताले मत दिएरै आएको हो’ सांसद शाहीले भनिन्, ‘महिला बोल्नै सक्दैनन्, जे गरे पनि हुन्छ भनेर पो हो की ?’ संसद् बैठकमा आफ्नो जहाँ सिट छ त्यही बस्‍ने व्यवस्था हुनुपर्ने उनको माग छ ।

‘प्रदेशसभाको बैठकमा मेरो भूमिका अनुसार जहाँ बस्‍नुपर्नेको त्यहाँ बसालियोस् नत्र सिटमा नबसाले दर्शकदिर्घामा गएर बस्छु’ उनले भनिन्, ‘बोल्नेको कनिका बिक्ने नबोल्नेको चामल पनि नबिक्ने भनेझै मेरो पनि त्यस्तै हालत भएको छ ।’ आफूमाथिको विभेदविरुद्ध बोल्नुपर्ने अवस्था आएको उनको भनाइ छ । 

प्रदेशसभामा सहभागी सांसद तथा सभामुखहरू पार्टीको साँघुरो घेराबन्दीबाट माथि उठ्न जरुरी रहेको उनको उनले बताइन् । ‘आफ्नो पार्टीको बहुमत छ भन्दैमा जे पनि गर्न त मिल्दैन नि’ उनी भन्छिन्, ‘हामी साना दलका सांसदलाई पनि मिलाएर लैजानुपर्छ ।’

माओवादीबाट प्रतिनिधित्व गर्ने सांसद धर्मराज रेग्मी निलम्बनमा परेपछि कर्णाली प्रदेशसभामा हाल ३९ जना सांसद छन् । जसमध्ये एमालेका २०, माओवादी केन्द्रका १२, काँग्रेसका ६ र राप्रपाबाट एक जना मात्र अर्थात शाहीले प्रतिनिधित्व गर्दै आएकी छन् । 

यता कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले संसंदमा शाहीलाई कुनै पनि विभेद नगरेको बताए । ‘समस्या केही होइन उहाँले नबुझेर हो । सिट परिवर्तन भइरहन्छ नै’ उनले भने, ‘उहाँलाई यो लागेको मात्र हो ।’ 
 


Author

थप समाचार
x