Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

कर्णाली

कर्णालीका विमानस्थलमा अलपत्र नागरिकका लागि हवाई उडान थपिने

इकागज |
कात्तिक १, २०७९ मंगलबार १७:० बजे

फाइल तस्बिर

काठमाडौँ- वायुसेवा सञ्चालक संघ नेपालले कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकहरूलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थप गर्ने बताएको छ ।

मंगलबार कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीसँग भएको छलफलमा वायुसेवा सञ्चालक संघ नेपालले वायुसेवा कम्पनीहरूसँग भएका हवाई उडान थप गरेर अलपत्र नागरिकहरूलाई नजिकको विमानस्थलमा उद्धार गर्ने प्रतिबद्धता जनाएको हो ।


छलफलमा बोल्दै वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले कर्णाली प्रदेशमा वर्षाका कारण सडक मार्ग अवरुद्ध हुँदा हवाई उडानमा देखिएको विद्यमान समस्या समाधान गर्न निजी वायुसेवा सञ्चालकहरूसँग भएका जहाजको उडान थप गर्ने प्रतिबद्धता जनाए । उनले विमानस्थलहरूमा अलपत्र परेका यात्रुहरूलाई कर्णाली प्रदेशका हुम्ला,जुम्ला र डोल्पाबाट उद्धार गरेर नजिकैको विमानस्थलमा उद्धार गर्ने तयारी गरेको बताए ।

उनले कर्णालीको हवाई उडान समस्या समाधान गर्न सरकार र निजी क्षेत्र दुवैले सहकार्य गर्नुपर्ने उल्लेख गरे । थापाले सरकारले कर्णालीका विमानस्थलहरूमा अलपत्र नागरिकहरूको उद्धारका लागि नेपाल एयरलाइन्स र नेपाली सेनाको जहाज प्रयोग गर्नुपर्ने बताए । कर्णालीमा हवाई उडानका लागि भइरहेको अनियमितता रोक्न अनलाइन टिकटको व्यवस्था गर्ने सहमति भएको पनि उनले जानकारी दिए । 

कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले अविरल वर्षाका कारण कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा हवाई उडान प्रभावित भएर यात्रुहरू अलपत्र हुँदा मानवीय संकट आउने अवस्था सिर्जना भएको बताए । उनले वर्षका कारण सडक मार्गसमेत अवरुद्ध भइ उडान चाप बढेको जिकिर गरे । हवाई यात्रुहरूको चाप अत्याधिक भएको अवस्थामा समेत हवाई उडान कम्पनीहरूको उडान कटौती गरेको भण्डारीको भनाइ छ । उनले कर्णालीका विमानस्थलहरूमा अलपत्र परेका हवाई यात्रुहरूलाई तत्काल उद्धार गर्नका लागि नेपाल वायुसेवा सञ्चालक संघसँग माग गरिएको बताए ।

भण्डारी नेतृत्वको टोलीले मंगलबार नै पर्यटन मन्त्रीलाई भेटेर कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको थियो । केही दिन अघिको वर्षाका कारण सडक बाटोको सञ्जाल, विद्युत् र टेलिफोन सेवासमेत अवरुद्ध भएपछि अहिले कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला र कालीकोट लगायतका जिल्ला सम्पर्क विच्छेद छन् ।


Author

थप समाचार
x