कर्णाली

वीरेन्द्रनगरका शैक्षिक संस्था बन्द

इकागज |
बैशाख ७, २०७८ मंगलबार १७:४३ बजे

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका शैक्षिक संस्थाहरू वैशाख मसान्तसम्मका लागि बन्द गरिने भएको छ । नगरपालिका क्षेत्रभित्रका विद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम केन्द्रहरू बैशाख मसान्तसम्म भौतिक रूपमा उपस्थिति नभई अन्य वैकल्पिक शिक्षण विधिबाट शैक्षिक गतिविधि संचालन गर्ने जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

कोभिड–१९ माहामारीको रूपमा फैलिदै गर्दा संक्रमण पनि बढ्दै गएकोले प्रशासन कार्यालयले यस्तो अनुरोध गरेको हो ।  जिल्ला प्रशासन कार्यालय सुर्खेतको मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्दको बैठक यस्तो निर्णय गरेको हो ।


यस्तै शैक्षिक गतिविधिको लागि जिल्लाका अन्य पालिकाको हकमा संक्रमणको दर र जोखिमलाई मध्यनजरगरी सम्बन्धित पालिकाले व्यवस्था मिलाउनु पर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी विद्यालय तथा कलेजका पूर्वनिर्धारित परीक्षा कार्यक्रम जनस्वास्थ्यका मापदण्ड पालना गरी संचालन गनुपर्ने प्रशासनले जनाएको छ । 

यस्तै सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव, जिमखाना, स्वीमिङपुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम बैशाख मसान्तसम्म बन्द हुने भएका छन् । प्रशासनले परम्परागत संस्कृतिहरू मनाउँदा २५ जना भन्दा धेरै भेला गर्न नदिने जनाएको छ । जिल्लाका विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण फैलन थालेपछि प्रशासनले शैक्षिक गतिविधिहरू भौतिक रूपमा उपस्थित नभई वैकल्पिक रुपमा सञ्चालन गर्न आग्रह गरेको छ ।


Author

थप समाचार
x