सुर्खेतमा फस्टाउँदै सयपत्री खेती, युवाहरुको आर्कषण बढ्दो
सुर्खेत। केही वर्ष अघिसम्म तिहारमा मालाका लागि फूलहरु आफ्नै घरको आँगनमा फूल्थे । प्रायः सबैको आँगनीमा ढकमक्क सयपत्री तथा मखमली फूलहरु हुन्थे । तर, पछिल्लो समय यी फूलहरुको अभाव हुँदै जान थालेको छ । जग्गाको खण्डीकरण र बढ्दो शहरीकरणसँगै आँगनी तथा बारीमा फूल्ने फूलहरुको कमी हुँदै जान थाल्यो । जसका कारण बजारमा आउने प्लाष्टिकका फूलहरुको माग बढ्दै गयो ।
फूलको आवश्यकताको मध्यनजर गर्दै सुर्खेतमा केही युवाहरु व्यवसायिक रुपमा फूलखेती गर्न थालेका छन् । उनीहरुलाई तिहारको बेलामा फूल, माला पुर्याउनै हम्मे हम्मे परिरहेको छ । यस वर्ष चुनाव हुने भएकाले दलका कार्यक्रमहरु आयोजना हुने हुँदा पनि फूलको माग अझै बढ्दो रहेको व्यवसायी युवाहरु बताउँछन् ।
सुर्खेतको गुर्भाकोट नगरपालिका १४ को भर्लेनीमा फूल व्यवसाय सुरु गरेका हिराबहादुर घर्तीले तिहार अगाडि नै फूलको अर्डर आउने भएकाले पुर्याउनै भ्याइनभ्याई रहेको बताए । उनले यस वर्षदेखि कर्णाली ड्रागन फ्रुट फर्म सञ्चालन गरि ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती सुरु गरेका छन् ।
फर्ममा रहेको फूल सिमित भएकाले ग्राहकको माग अनुसारको फूल र माला पुर्याउनै मुस्किल रहेको बताए । ‘मैले यो पहिलो पटक दुई कठ्ठामा पाँचसय विरुवा रोपेको हो, दशै अगाडिबाटै फूल बेच्न शुरु भएको हो’ उनी भन्छन्, ‘फूल माग अनुसार दिन सकिएन अर्काे वर्ष धेरै जग्गामा फूलको खेती गर्नुपर्ला ।’ त्यतिमात्र होइन विभिन्न संघसंस्था र सहकारीहरुको वार्षिक उत्सव, विभिन्न पूजाआजा र शुभकार्यमा फूलको आवश्यकता बढ्ने भएका कारण पनि माग बढ्दो रहेको उनको भनाई छ । आफूले लगाएको फूल सबै बुकिङ भैसकेकाले अन्य जिल्लाका फर्मबाट मगाएर बिक्री गरेको उनले बताए । सयपत्री फूल प्रति के.जी सात सय रुपैयाँ र माला तीनदेखि चारसय रुपैयाँसम्म बिक्रि गरिरहेको घर्तीले सुनाए ।
गत वर्षदेखि वीरेन्द्रनगरमा फूल खेती सुरु गर्दै आएका युवा पुनम विसीले पछिल्लो समय सयपत्री फूलको माग बढ्दो रहेको बताए । उनले सयपत्री फूल प्रतिकिलो चारदेखि ६ सय सम्ममा बिक्री गरेको बताए । यस वर्ष रोग किराको कारण फूलको उत्पादनमा कर्मी आएको विसीले बताए ।
दशकयता वीरेन्द्रनगरमा फूल र बोटविरुवाको व्यवसाय गर्दै आएको झरना नर्सरीले यसवर्ष चार कठ्ठा जग्गामा सयपत्री फूल लगाएको नर्सरीका सञ्चालक झरना थापाले बताइन् । ‘यस वर्ष फूल र माला माग अनुसार पु¥याउनै सकेनौ’ उनले भनिन्, ‘हाम्रो नर्सरीबाट यसवर्षको फूलको पचास हजार बेर्नामात्रै बेच्यौ ।’ पोहोर चाडपर्वका बेला फूल र मालाको माग अनि व्यापार दुवै बढेकाले यस वर्षदेखि फूल खेती गर्नेहरु बढेको उनले बताइन् ।
सयपत्री फूलको माग बढ्दो भएका कारणले पछिल्ला वर्षहरुमा फर्महरु नै सञ्चालन गरेर फूलखेती सुरुवात गरिएको छ । जसबाट आम्दानी पनि राम्रो आम्दानी हुन थालेपछि युवाहरु पनि उत्साहित भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया