Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

कर्णाली

ढुवानीका लागि उपल्लो डोल्पामा चौपायाकै भर

इकागज |
कात्तिक ११, २०७९ शुक्रबार ७:० बजे

फाइल तस्बिर

जाजरकोट- डोल्पाका शे–फोक्सुण्डो गाउँपालिका–४ का पेमा साङ्मो लामाको दुई सिट (१४ वटा) खच्चड, चौँरी रहेका छन् । उनले खच्चड र चौँरीले दैनिक सदरमुकाम दुनैबाट आवश्यक खाद्यान्नलगायतका अन्य सामग्री बोकेर शे–फोक्सुण्डोका अन्य पालिकामा ढुवानी गर्दै आएका छन् ।  

उकालो बाटोका साथै अधिकांश ठाउँमा काठबाट निर्माण गरिएका पुलबाट खोला पार गर्दै उपल्लो डोल्पामा खाद्यान्न दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपरेको लामाको भनाइ छ । दिन, रात नभनी खच्चड र चौँरीसँग आवश्यक सामग्री बोकेर हिँड्नुपरेको लामाको दुखेसो छ । चैत महिनाबाट सुरु भएको यो ढुवानी कार्य कात्तिकको अन्तिमसम्ममा मात्र हुने उनको भनाइ छ । 


चिसो बढेसँगै ढुवानी कामसमेत बन्द हुन्छ । उनी भन्छन्, 'दुःख गर्ने हो भने जहाँ पनि पैसा छ, खच्चड र चौँरीसँग हिँड्दा, हिँड्दा उनीहरूका आनीबानी सबै थाहा भइसक्यो, मेरो पनि उनीहरूले थाहा पाइसके ।' पाँच वर्ष पहिले जाजरकोटको बगराबाट खच्चडमा सामग्री ढुवानी गरेर उपल्लो डोल्पा पुर्‍याएको दुःख शब्दमा सुनाउनै नसकिने भएको लामाको पीडा छ ।
 
'सडक अलि माथि सर्दैछ, हामी पनि माथि सर्दैछौँ,' अर्का खच्चड व्यवसाय गरेका डोल्पोबुद्ध गाउँपालिका–४ का लिसेन गुरुङले भने । उनले थपे, 'तपाईंहरू दुई दिन लगाउने बाटोमा हामी आधा दिनमै पुग्छौँ, त्यो हाम्रो बाध्यता हो । त्यसरी काम नगर्दा हामीलाई तोकिएको काम गर्न मुस्किल हुने गर्छ ।' 

दिनरात गरेर गन्तव्यमा पुग्नुपर्छ । अन्य मानिस निदाइरहेका हुन्छन् । 'हामी बिहान ३ बजे उठेर खच्चड र चौँरीलाई दाना दिइ हिँड्नुपर्छ,' उनले थपे । चिसो मौसम, ओडारमा खानेकुरा पकाएर खानुपर्ने बाध्यता भएको सुनाउँदै उनले ढुङ्गा आउने डरसमेत उत्तिकै हुन्छ भने । 

सदरमुकाम दुनैबाट उपल्लो डोल्पामा निर्माणका सामग्रीदेखि अन्य खाद्यान्न हुँदै कपडासम्म खच्चडमा ढुवानी गरेर जिविका चलाउनु रहर नभई बाध्यता भएको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले बताए । सामानको मूल्यभन्दा ढुवानीको मूल्य बढी हुने भएकाले उपल्लो डोल्पामा कुनै पनि सामग्री छोइ नसक्नु महङ्गो रहेको अध्यक्ष गुरुङले बताए ।

दुई वर्षअघिसम्म उपल्लो डोल्पामा सञ्चार सुविधा थिएन, कहाँ के, हुन्छ भन्ने जानकारी लिन महिना दिन नै पर्खनुपर्ने बाध्यता थियो । पछिल्लो दुई वर्षमा केही मोबाइल टावर जडानसँगै उपल्लो डोल्पाका ४० प्रतिशत भागका सर्वसाधारणले सञ्चार सेवा उपभोग गर्न पाएका छन् । 

पशुपालन व्यवसायलाई मुख्य पेशा बनाएका यहाँका सर्वसाधारणले अधिकांश चौपाया खाद्यान्न ढुवानी गर्ने काममा प्रयोग हुँदै आएको बताइन्छ । दुनैबाट हिँडेको व्यक्ति कहाँ पुग्यो, अत्तोपत्तो नहुने अवस्था अझै पनि कायम छ । आफ्नो तौलभन्दा बढी सामग्री बोकेर दैनिक जिन्दगी जिउने काम कम आँक्न नसक्ने यहाँका अधिकांश सर्वसाधारणको भनाइ छ । 

बिरामी हुँदासमेत समयमै उपचार नपाउने अवस्था उपल्लो डोल्पामा रहेको छ । दुनैबाट ढुवानी गरेर लिएको औषधि सकिनबित्तिकै तत्काल नपाउने भएकाले भगवानको भरोसामा स्वास्थ्यसँग ज्ञान भई स्थानीय जडीबुटीको प्रयोग गर्दै उपचार गर्दै आम्ची पेशा गर्दै आउनुभएका डोल्पोबुद्ध गाउँपालिका–५ का पौटोन गुरुङले बताए । 

उनका अनुसार आम्ची नै उपल्लो डोल्पाको उपयुक्त उपचार गर्ने खास डाक्टर हुन् । मङ्सिर महिनादेखि उपल्लो डोल्पामा रहेका प्रहरी चौकीसमेत चिसोका कारण दुनै झर्ने गर्दछन् । कर्मचारी र जनप्रतिनिधिसमेत चिसो छल्न दुनै, काठमाडौँलगायतका ठूला सहरमा गइसकेका हुन्छन् । मङ्सिरको पहिलो साताबाट चैतसम्म उपल्लो डोल्पाका अधिकांश गतिविधि चिसोका कारण ठप्प हुने गर्दछन् ।  

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पाको सडक निर्माण गरेर हौसियका डोल्पावासी दुनैबाट उपल्लो डोल्पासम्मको सडक निर्माणको जिम्मेवारी पनि सेनालाई नै दिनुपर्ने यहाँका स्थानीयले बताउँदै आएका छन् । 

सेनाले काम गर्दा छिटोछरितो हुने भएकाले आफूहरूको माग सेनासँग सहकार्य गरेर बाटो बनाउने नै भएको उनीहरूले बताउँदै आएका छन् । 
 
जिल्ला समन्वय समितिबाट निर्णय नै गरेर सेनालाई बाटो निर्माणको जिम्मेवारी दिनुपर्ने माग डोल्पाका बासिन्दाको छ । उपल्लो डोल्पाका तीन पालिकाले दुई वर्षअघि नै बाटो बनाउनका लागि सेनाको आवश्यकता महसुस गर्दै कार्यपालिकाबाट निर्णय गरी डोल्पाका सांसदहरूलाई जानकारीसमेत गराएका थिए ।


Author

थप समाचार
x