Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

कर्णाली

जुम्लामा हेलिकप्टरमार्फत ल्याइयो मतपत्र

इकागज |
कात्तिक १७, २०७९ बिहीबार १५:१९ बजे

जुम्ला- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र जुम्ला आइपुगेको छ । 

सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत मतपत्र ल्याइएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए । नेपाली सेना नन्दबक्स गणका गणपति रवीन थापाले नेपाली सेनाको हेलिकप्टरले दुई पटकमा मतपत्र ल्याएको बताए ।


गत असोज १९ गतेदेखि परेको अविरल वर्षा र बाढीका कारण कर्णाली राजमार्ग अवरुद्ध भएपछि हेलिकप्टरमार्फत मतपत्र ल्याइएको परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताए । स्थानीय तहको निर्वाचनका लागि भने मतपत्र ट्रकमार्फत ल्याइएको थियो । 

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ एक लाख ५१ हजार मतपत्र ल्याइएको छ । जसमध्ये प्रतिनिधि सभाको समानुपातिकतर्फ ७७ हजार र प्रदेश सभा समानुपातिकतर्फ ७४ हजार मतपत्र ल्याइएको हो । 

साथै, प्रत्यक्षतर्फको प्रतिनिधि सभाका लागि ७६ हजार र प्रदेश सभा (क) का लागि ४२ हजार तथा प्रदेश सभा (ख) का लागि ३६ हजार मतपत्र ल्याइएको हो । जिल्लामा रहेका ६८ हजार ६३८ मतदातामध्ये प्रदेश (क) मा ३६ हजार ७८३ र प्रदेश (ख) मा ३१ हजार ८५५ छन् ।


Author

थप समाचार
x