Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

कर्णाली

कर्णाली नदी किनारमा तीन जिल्लाको सुरक्षा बैठक

इकागज |
कात्तिक १७, २०७९ बिहीबार १८:३८ बजे

सुर्खेत- कर्णाली नदी किनारमा तीन जिल्लाको सुरक्षासम्बन्धी बैठक बसेको छ । बिहीबार दैलेखको आठबीस नगरपालिका अन्तर्गत पर्ने कर्णाली नदीको किनारमा तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको चुनाव केन्द्रित बैठक बसेको हो ।

कर्णाली प्रदेशका दैलेख र कालिकोट तथा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाबीच सुरक्षा समन्वय बैठक बसेको हो । तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको उक्त बैठकमा विशेष गरेर निर्वाचन सुरक्षाका विषयमा छलफल केन्द्रित थियो ।


निर्वाचनको समयमा तीन जिल्ला बीचको एकआपसमा समन्वय र सहकार्यका विषयमा छलफल भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भुवनेश्वर शाहले बताए । त्यसैगरी आसन्न निर्वाचन, विपद् व्यवस्थापन, दुई ठूला राजमार्गहरू कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्गमा सहज सवारी आवागमन, सडक दुर्घटना न्यूनीकरण, चोरी निकासी नियन्त्रण लगायतका विषयमा केन्द्रित रहेर अन्तर जिल्ला सुरक्षा बैठक बसेको शाहले जानकारी गराए ।

बैठकमा दैलेख, कालिकोट र अछाम जिल्लामा सञ्चालित ठूला योजनाहरूको सुरक्षा सवालमा पनि छलफल भएको थियो । बैठकमा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, अछामका प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेय, दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद साहसहित कालिकोट र अछामका प्रहरी प्रमुख, तीन वटै जिल्लाका सशस्त्र प्रहरी बल नेपालका प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू उपस्थित थिए ।

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आठबीस नगरपालिका–४ राकमकर्णालीस्थित कर्णाली नदी किनारमा बैठक बसेको थियो ।


Author

थप समाचार
x