बादी समुदायमा हराउँदै मादल
सुर्खेतको गुर्भाकोटको बादी बस्तीमा रहेको एक घर । तस्बिर : लक्ष्मी/इकागज
सुर्खेत : दशैं तिहार नजिकिदै गर्दा गुर्भाकोट नगरपालिकामा रहेको बादी बस्तीमा छुट्टै रौनक देखिन्थ्यो । बस्ती वरपर फुलेका सयपत्री र मखमली फुल वरपर मौरीको भुनभुन आवाज, अझ त्यसमाथि घनघनाट मादल र बाँसुरीको आवाजले छुट्टै रौनक थपिन्थ्यो । बस्तीका लाले बादीलाई मादल बनाउन भ्याइनभ्याई हुन्थ्यो । चाडबाड नजिकिएपछि नयाँ मादल बनाउने कोही पुरानालाई सुधार गर्ने त कुनै गाउँमा बजाउन निम्तो आउँथ्यो ।
त्यतिबेला मादलको घनघनाट आवाजले बादी बस्तीमा नै छुट्टै रौनक छाएको हुन्थ्यो । कसैले दशैंलगतै मादलको बनाउने अर्डर गर्थे त कोही बस्तीमै पुगेर बनाएका मादल रोजेरै किन्ने गर्थे । त्यतिमात्र होइन बादी समुदायलाई गाउँबस्तीमै बोलाएर पिढीमा गुन्द्री ओछ्याएर उनीहरूलाई मादल बजाउन लगाउने र त्यही तालमा नाच्ने पनि गरिन्थ्यो । मादल बजाएवापत उनीहरूलाई अन्न र पैसा दिएर पठाइन्थ्यो ।
तर अहिले बादी बस्ती सुनसान छ । नत यहाँ मादलको आवाज सुन्न पाइन्छ, न बिग्रिएको बनाउने र नयाँ किन्नेकै चहलपहल नै । ‘बस्तीमा मादल बनाउन दिन कोही आउँदैनन्’ मादल बनाएर गुजरा चलाउँदै आएका लाले बादी भन्छन् ‘अब त मादलमा माकुराले जालो लाइसक्यो’ आधुनिक प्रविधिको विकासले मादलको जमना गइसकेको उनको भनाइ छ । यसपटक कोभिड-१८ का कारण समस्या थपिएको उनले बताए । ‘पछिल्लो पुस्तालाई मादल मन पर्न छोडिसक्यो न त कोही बजाउने नै हुन्छन्’ उनी भन्छन्, ‘देउसी भैलो खेल्न पनि एउटा डेग मात्र भएपनि पुग्छ ।’
पछिल्लो समय देउसी भैलो होस् या कुनै कार्यक्रम होस् नयाँ युवा पुस्ताहरु डेग र क्यासेटमै रमाउँछन् । उहिलेका मादलको तालमा नाचिने सिंगारू, झ्याउरे र सोरठीजस्ता नाचहरू पनि लोप भइसकेका छन् । गाउँमा लोक बाजाको तालमा कतै कसैले गाएको र नाचेको सुन्न पाइदैन । कान फुट्ने गरि चर्को स्वरमा देउसीभैलो गीतहरू बजाउदै त्यही तालमा उफ्रिदै युवायुवती र बालबालिकाहरू कराइरहेका हुन्छन् ।
पछिल्लो समय देखिएका कुनै पनि देउसी भैली समूहले मादल बाँसुरीलगायतका लोक बाजाहरू बजाएको र मौलिक रुपमा देउसी भैलीगीतहरू गाएको देखिदैनन् । न उनीहरु गीत गाएर देउसी भैली खेल्छन, न उनीहरू देउसी भट्याउँछन् । कानका जाली फुट्ने गरि डिजेमा गीतमा हल्लिएको रौनक नदेखिएको स्थानीय युवराज गौतम बताउछन् । ‘आजभोलि त डेगमा गीत बजाएर एकछिन नाँच्ने अनि पैसा तोकेर माग्ने र माइकमा कसले कति पैसा दियो त्यो सुनाउने गर्दछन्’ उनी भन्छन् ‘पहिले-पहिले देउसी भैलो खेल्ने भनेपछि एक जोर मादल, बाँसुरी नभइ हुदैनथ्यो ।’
नयाँ आधुनिक प्रविधिको प्रयोगसँगै यहाँका बादी समुदायको मादल बनाउने पेशा ओझेलमा परेको छ । दिनभरी गाउँमा डुलेर मादल बनाई जिविका चलाउँदै आएका बादी समुदाय अहिले चिन्तामा छन् । आधुनिक प्रविधिको कारणले मादल लोप हुन थालेको सोही बस्तीकी ५२ वर्षीया पुतली बादी बताउँछिन् । ‘उहिले हामीले सानादेखि ठूलासम्म थरिथरिका मादल बनाउथ्यौं र किन्ने ग्राहकको रोजाइ पनि त्यस्तै किसिमको हुन्थ्यो’ उनले भनिन्, ‘अहिले त मादल रोजेर किन्नु त परै जाओस मादललाई नयाँ पुस्ताले हेर्न छाडे ।’ गाउँभरी मादल बोकेर हिडेपनि सस्तो मुल्यमा पनि लैजान छोडेको नउको भनाइ छ ।
‘पहिले दिनमा दुई तिनवटा सम्म नयाँ मादल बिक्री हुन्थ्यो अहिले १० दिन डुलेपनि एउटा बेच्न गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘आजभोली पुराना मादल त बनाउनै पनि छोडे ।’ अहिले पुतलीलाई गाउँमा मादल लगेर जान मन लाग्दैन । ‘गाउँमा मादल लगेर डुल्न गयो भने, घरघरमा बोलाएर पिढीमा गुन्द्री लगाएर बसाल्ने र गाउँ नै रन्किने गरि मादल बजाउन पठाउथे’ विगत सम्झदै उनले भनिन्, ‘मादल बजाएपछि हामीलाई केही अन्न र पैसा दिएर पठाउँथे ।’
मादल बनाउने र नयाँ किन्ने मात्र होइन चाँडबाडको बेलामा गाउँमा सबै जम्मा भएर मादल बजाउन लगाउने र पुराना भाकामा नाच्न पनि छोडेको उनले बताइन । ‘चाडपर्वको बेला गाउँलेहरू सबै एकै ठाउँमा जम्मा भएर मादल बजाउन लगाउँथे र रमाइलो गर्थे अनि हामीलाई पैसा दिन्थे’ विगत सम्झदै उनले भनिन्, ‘अहिले त मादलको कुनै महत्व नै मान्दैनन् ।’ अहिले समुदायमा विरलै मात्रामा मादलको माग हुने गरेको बकुला बादी बताउँछिन् ।
गाउँमा मादल बिक्री हुन छाडेपछि बस्तीका धरैजसो युवाहरू भारत तथा अन्य खाडी मुलुकमा जाने गर्दछन् । अहिले बादी समुदायका धेरेजसोले मादल बनाउने काम छोडिसकेका छन् । चाडपर्वको समयमा गाउँमा आउने र अन्य बेलामा उनीहरू विदेश गएर आयआर्जन गरि घर चलाउने गर्छन् । कतिपय महिलाहरु जंगलबाट दाउरा ल्याएर बेच्दै गुजरा चलाउने गरेको सोही बस्तीकी कविता बादीले बताइन् । ‘पहिला जस्तो मादल बनाउन पनि छोडे, माछा मार्ने काम पनि त्यति गरेका छैनन्’ कविता भन्छिन्, ‘अहिले त पुराना पेशा छोड्दै नयाँ पेशा अंगाल्नुपर्ने अवस्था आएको छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया