Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

कर्णाली

जुम्लाका आठवटै स्थानीय तहमा नमुना मतदान

इकागज |
कात्तिक २८, २०७९ सोमबार १८:३५ बजे

फाइल तस्बिर

जुम्ला- जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहमा मतदाता शिक्षाका लागि नमुना मतदान कार्यक्रम गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी अविनन्द चौलागाईले बताए ।

जिल्लाका आठवटै स्थानीय तहको सबै वडामा मतदातालाई मतदान गर्ने तरिका, बदर मत घटाउनका लागि नमुना मतदान गरिएको उनको भनाइ थियो ।


चन्दननाथ नगरपालिकामा गरिएको नमुना मतदानमा १०४ मतमध्ये १३ मत बदर भएको थियो भने सिञ्जा गाउँपालिकामा ३६ जनाले मतदान गरेकामा आठ मत बदर भएको थियो । कनकासुन्दरीमा ४८ जनाले मतदान गरेकामा १२ मत बदर, पातारासीमा ३८ जनाले मतदान दिएकामा १४ मत बदर भएको थियो ।

त्यस्तै हिमा गाउँपालिकामा ४२ जनाले गरेको १२ मत बदर, तातोपानीमा ५९ जनाले मतदान गरेकामा नौ मत बदर, तिलामा ७२ जनाले मतदान गरेकामा १८ मत बदर र गुठीचौर गाउँपालिकामा ७२ जनाले मतदान गरेकामा १२ मत बदर भएको थियो ।

नमुना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ । जिल्लाका सबै वडामा मतदाता शिक्षा सञ्चालन भएको र नमुना मतदानबाट पनि मतदानका विषयमा जानकारी हुने निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए ।

जिल्लाभर कूल एक सय छ मतदान केन्द्र, ८३ वटा मतदान स्थल र दुई अस्थायी मतदान स्थल कायम गरिएको छ । जिल्लामा कूल ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेश सभा निर्वाचन (क) मा ३६ हजार सात सय ८३ र प्रदेश सभा (ख) मा ३१ हजार आठ सय ५५ मतदाता रहेको कार्यालयले जनाएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।


Author

थप समाचार
x