कर्णाली

कर्णाली कहर

गरिबी र हिंसाकाे दलदल : स्वयंलाई मार्छन् कर्णालीवासी

डरलाग्दो तथ्यांक, तीन वर्षमा ७८५ जनाले गरे आत्महत्या

लक्ष्मी भण्डारी |
बैशाख १०, २०७८ शुक्रबार १५:१५ बजे

सुर्खेत : गत फागुनको अन्तिम साता दैलेखको आठबिस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालिन् । मदिरा सेवन गरेर आउने श्रीमानको हिंसा सहन नसकेपछि कर्णालीमा हाम फाल्न बाध्य भएकी थिइन् । सुकीको शव भेटिएपछि जिल्ला अस्पताल अछाममा पोस्टमार्टम गरिएको थियो । जसमा उनको पेटमा चार महिनाको भ्रुण रहेको खुलेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आत्महत्याको कारण श्रीमानले दिइरहने यातना र हिंसा रहेको हुनसक्ने प्रहरीको आशंका छ । अहिले सुकीका श्रीमान् प्रहरी हिरासतमा छन् ।  यस्तै दुई वर्षअघि सुर्खेतको वीरेन्द्रनगरकी २५ वर्षीया महिलाले पनि आत्महत्या गरिन् । उनको पनि आत्महत्याको कारण श्रीमान र घरपरिवारबाट पाएको हिंसा थियो । भागी विवाह गरेकी उनलाई माइती पक्ष कमजोर देखाउँदै घरपरिवारबाट गाली गलौजहरू गर्दै आएका थिए । माइती र घर दुवैबाट सहयोग नपाएपछि उनले आत्महत्याको बाटो रोजिन् । 


गत वर्ष पूर्वीसुर्खेतको सिम्ता गाउँपालिकास्थित क्वारेन्टिनमै २५ वर्षीय एक युवतीले आत्महत्या गरिन् । लकडाउनको बेलामा घर फर्किएकी उनी क्वारेन्टिानमा बसेकी थिइन् । जेठ १४ गते भारतबाट घरमा फर्किएकी उनी असार एक गते आत्महत्या गरेकी थिइन् । गाउँमा ऋण तिर्न भारत गएकी उनी रिक्तो हात घरमा फर्कनुको पीडा थियो । गरिबीको कारण उनी आत्महत्या गर्न बाध्य भएको उनका आफन्तहरूले बताए । 

गरिबी र हिंसाका कारण आत्महत्या गर्न बाध्य भएका यी त प्रतिनिधिमुलक पात्र मात्रै हुन् । कर्णाली प्रदेशभर तीन वर्षमा ७ सय ८५ जनाले आत्महत्या गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार  आर्थिक वर्ष २०७७/०७८ को फागुन मसान्तसम्म कर्णालीका २ सय ४९ जनाले आत्महत्या गरेका छन् ।

तथ्याङ्क अनुसार  सुर्खेतमा ९२, सल्यानमा ५१, दैलेखमा ३७, जाजरकोटमा २०, रुकुममा २२, जुम्लामा १३, कालिकोटमा ९, मुगुमा तीन र हुम्लामा दुई जनाले आत्महत्या गरेका छन् ।  यस्तै आर्थिक वर्ष २०७६/०७७ मा दुई सय ८६ जनाले आत्महत्या गरेका छन् । यस्तै २०७५/०७६ मा २५५ जनाले आत्महत्या गरेका छन् । कर्णाली प्रदेशका १० जिल्लामध्ये सल्यान र सुर्खेत आत्महत्याका घटना बढी भएको तथ्यांकमा उल्लेख छ । 

कर्णालीको सन्‍दर्भमा अधिकांश अपराधका घटनाहरूमध्ये आत्महत्याका घटना बढी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिएसपी गणेशबहादुर बमले बताए । विशेषगरी कर्णालीमा गरिबी र हिंसाले गर्दा नै ज्यान जाने गरेको तथ्यांक रहेको उनले बताए । 

‘प्रहरी तथ्याङ्क अनुसार कर्णालीमा बढ्दो आत्महत्याको कारण गरिबी र घरेलु हिंसा देखिएको छ’ डिएसपी बमले भने, ‘यसमा विभिन्न तनावको कारणले गर्दा डिप्रेसन हुने र आत्महत्याको बाटो रोज्ने गरेको देखिएको छ ।’ यस प्रदेशमा अधिकांश झुण्डिएर आत्महत्याका घटना भएको डिएसपी बमको भनाइ छ ।
 
प्रविधिको दुरुपयोगबाट बढ्ने मानसिक तनाव, अशिक्षा र लागुऔषध पनि आत्महत्याको कारण देखिएको  मानवअधिकारकर्मी किमसरा खत्रीको भनाइ छ । आत्महत्या रोकथामका लागि हिंसालाई कम गर्न उच्च मनोबल वृद्धि हुने, जीवन उपयोगी सिपहरू, मनोसामाजिक ज्ञान र जनचेतनामा जोड दिनुपर्ने अधिकारकर्मी खत्रीको भनाइ छ । 

प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीकाअनुसार पछिल्लो समय आत्महत्याका घटनाहरू बढेको भन्दै यसको रोकथाममा सबै लाग्नुपर्ने बताउँछन् । ‘धेरैजसो घटनाहरू डिप्रेसनका कारण हुन्छन्’ उनी भन्छन्, ‘त्यसकारण डिप्रेसनमा गएका व्यक्तिहरूलाई परिवारबाट माया ममता दिएमा पनि केही हदसम्म यस्ता घटनाहरूलाई रोकथाम गर्न सकिन्छ ।’


Author

थप समाचार
x