कर्णालीमा कोभिड-१९ संक्रमितलाई हेलिकोप्टरबाट उद्धार गरिने
सुर्खेत : कर्णाली प्रदेश सरकारले कोभिड–१९ का जटिल बिरामीको उपचारका लागि दुर्गम जिल्लाहरूमा हेलिकोप्टरको व्यवस्था गर्ने निर्णय गरेको छ । कर्णाली सरकारले जिल्लाका सुगम स्थानहरूमा एम्बुलेन्स र दुर्गममा हेलिकोप्टरको व्यवस्था गर्ने निर्णय गरेको हो ।
बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षता बसेको कर्णाली प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकले (कोभिड–१९) को नियन्त्रण तथा रोकथाम गर्नका लागि एम्बुलेन्स र हेलिकोप्टर भाँडामा लिएर सञ्चालन गर्ने निर्णय गरेको हो । त्यसैगरी प्रदेश सरकारले दोश्रो चरणको कोरोना नियन्त्रण तथा रोकथामका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थप ५ सय श्यैयाको आइसोलेसन बेड विस्तार गर्ने निर्णय पनि गरेको छ ।
प्रदेशका सबै जिल्ला अस्पतालमा थप ५० श्यैयादेखि १०० श्यैयाका अस्पताल निर्माण गरिने भएको छ । त्यसैगरी प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ५ सय श्यैयासम्मका कोरोना संक्रमणका बिरामीको उपचार गर्नका लागि शैया बिस्तार गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।
‘दोश्रो चरणमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि बैठक बसेर सबै प्रकार नीति अबलम्बन गर्नका लागि सामाजिक विकास मन्त्रालयलाई योजना बनाउन निर्देशन दिइएका छौ ।’ केसीले भनिन्, ‘कोरोना संक्रमणका जटिल बिरामीको उद्धारको लागि हेलिकोप्टरको व्यवस्था गर्ने निर्णय गरेका छौ ।’ केसीका अनुसार कोरोना संक्रमितको लागि कम्तिमा पनि १० वटा एम्बुलेन्स भाँडामा लिने निर्णय भएको छ ।
केसीका अनुसार कोरोना भाइरस अहिले बढिरहेको भए पनि तत्कालका लागि कुनै प्रकारको लकडाउन नगर्ने र सामाजिक दूरी कायम राखेर प्रदेश सरकारका काम कारबाही अगाडि बढाउने कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको छ ।
त्यस्तै कोभिड आइसोलेसनका लागि आवश्यकतानुसार निजी क्षेत्रका होटललाई सुरक्षा मापदण्डसहित उपयोग गर्ने, दिनप्रतिदिन फैलिँदै गएको कोरोना नियन्त्रण तथा उपचार गर्न औपचारिक कार्यक्रमका लागि २५ र अनौपचारिक कार्यक्रममा पाँचभन्दा बढी भेला हुन नदिन र कोभिड सुरक्षा सतर्कता अपनाउन नागरिक तहसम्म प्रचारप्रसार गर्ने निर्णय भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया