Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

कर्णाली

कर्णालीमा निर्वाचनको तयारी पूरा, सुरक्षा व्यवस्था कडा

कुन जिल्लामा कति मतदाता ?

इकागज |
मंसिर ३, २०७९ शनिबार १६:५६ बजे

तस्बिर ः पश्चिम सुर्खेतको जनज्योती माध्यमिक विद्यालय केन्द्रका खटिएका कर्मचारीहरू सर्वदलीय बैठक बसाल्दै ।

सुर्खेत- भोलि हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि कर्णालीमा सबै तयारीहरू पूरा भएको छ । निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयका अनुसार सबै जिल्लामा रहेका मतदान केन्द्रमा मतदान अधिकृत, कर्मचारी तथा सामग्री पुगिसकेका छन् ।

निर्वाचनलाई मध्यनजर गरी कर्णाली प्रदेशका १० वटै जिल्लामा सुरक्षा कडा बनाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर १४ हजार ८ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन प्रदेशका सबै मतदानस्थलमा पाँच हजार ७२९ जना नेपाल प्रहरी र नौ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार ८ सय ७ जना सुरक्षाकर्मी खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 


कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि प्रहरीबाट मतदानस्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती, प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।

कुन जिल्लामा कति मतदाता ?

प्रदेशभर १० लाख ८ हजार ४ सय मतदाता रहेका छन् भने १ हजार चार सय ७६ मतदान केन्द्र रहेका छन् । जसमध्ये सुर्खेतमा दुई लाख ४३ हजार ६ सय १४ मतदाता रहेका छन् भने दुई सय ९३ वटा मतदान केन्द्र रहेका छन् । दैलेखमा एक लाख ५८ हजार ९ सय ५८ मतदाता संख्या र मतदान केन्द्रको संख्या दुई सय ८० रहेको छ । रुकुम पश्चिममा एक लाख चार हजार दुई सय ८० र मतदान केन्द्र एक सय ३९, कालिकोटमा ८० हजार ७ सय ३३ मतदाता संख्या छन् भने एक सय २३ वटा मतदान केन्द्र रहेका छन् ।

यसैगरी जाजरकोटमा एक लाख तीन हजार तीन सय ६३ मतदाता संख्या र मतदान केन्द्र को संख्या एक सय ४२ रहेको छ ।

यस्तै हुम्लामा ३२ हजार ८ सय ५७ मतदाता संख्या रहेको छ भने ५९ वटा मतदान केन्द्र रहेका छन् । डोल्पामा २२ हजार ७ सय ७२ मतदाता संख्या र ६६ मतदान केन्द्रहरू छन् ।  जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता संख्या र एक सय ६ वटा मतदान केन्द्र रहेका छन् । मुगुमा ३५ हजार ४ सय ८५ मतदाता संख्या र ६६ वटा मतदान केन्द्रहरू रहेका छन् ।

सल्यानमा एक लाख ५७ हजार ७ सय मतदाता संख्या रहेका छन् भने मतदान केन्द्रको संख्या २ सय २ रहेका निर्वाचन अयोगले जनाएको छ । प्रदेशभर सुरक्षाका दृष्टिकोणले ३ सय ४५ मतदान केन्द्र अति संवेदनशील मानिएका छन् भने ४ सय १३ मतदान केन्द्र संवेदनशील रहेका छन् । यी मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था मजबुत पारिएको छ ।


Author

थप समाचार
x