कर्णाली

हिउँद लागेसँगै गाउँमा युवा देख्नै मुस्किल

इकागज |
मंसिर २५, २०७९ आइतबार १६:१६ बजे

फाइल फोटो

कर्णाली - चिसो बढेसँगै सुर्खेत, नेपालगञ्जलगायतका सहरमा मानिसको घुइँचो देखिन थालेको छ । जाडो छल्न हिमाली र उच्च पहाडी भेगका बासिन्दा यहाँ मौसमी बसाइँ सर्ने गर्दछन् । 

रोजगारीको खोजीमा गाउँका कतिपय युवा भारतलगायत खाडी मुलुकहरुमा जाने र पुरुषहरु पनि जाडो छल्न यी विभिन्न सहरी क्षेत्रमा आउने गर्दा हिमाली जिल्लामा युवा त के पुरुषहरु पनि देख्न मुस्किल हुन्छ । ती जिल्लाका ग्रामीण बस्तीमा अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका र महिला मात्र भेटिन्छन् । चिसो याममा अचानक गाउँमा केही त्यस्ता केही घटना परिहाले भने उनीहरुले ठूलो समस्या भोग्नुपर्दछ ।


माथिल्लो कर्णालीका कालीकोट, हुम्ला, मुगु, डोल्पा र जाजरकोटका युवा तथा जाँगरिला सबै पुरुषहरु पैसा कमाउन बाहिरिएका छन् । सामान्यतः वर्षैपिच्छे कात्तिक महिनादेखि मजदूरीका लागि घर छोड्ने युवा यो वर्ष चुनावका कारण अलि ढिला विदेशिएका छन् । 

चुनावअघि युवालाई विदेसिन दिने छैनौँ भन्ने चर्का भाषणहरु सबै दलका उम्मेदवार गरे । उनीहरुलाई ती उम्मेदवारहरुले केही आशावादी पनि बनाए । केही हुन्छ भन्ने आशामा मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बहुसङ्ख्यक युवाहरुले भोट पनि हाले । भनेजस्तो तुरुन्तै केही हुन सम्भव थिएन । 

जितेका उम्मेदवारहरुले दिएको कोरा आश्वासनले गास, बास र कपासको प्रबन्ध नहुने देखिएपछि घर खर्चका लागि गाउँमै बसेर केही गर्न सक्ने अवस्था नदेखेपछि कतिपय युवा खाडी मुलुक जान काठमाडौँ हानिए भने धेरै युवाहरु भारतीय भूमिमा रोजगारीका लागि हिँडेका छन् । `गाउँमै बस्ने मन त थियो नि तर के गर्नु, भनेजस्तो केही काम पाइँदैन”, मुगु सोरु गाउँपालिकाका दले बुढाले भने, “मातृभूमि छोड्ने रहर त कसलाई हुन्छ र १ बाध्यताले नै मानिसलाई परदेशी बनाउँदो रहेछ ।`

सबै राजनीतिक दलहरुले चुनावका बेला युवा रोजगारीलाई महत्व दिएर आफ्ना घोषणा तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेकै थिए र यो चुनावमा पनि त्यो देखियो । दल तथा उम्मेदवारले युवाहरुको रोजगारी सुनिश्चितका लागि नभई भोट तान्नका लागि ती प्रतिवद्धता एवं घोषणापत्र ल्याएको तिला गाउँपालिका–४ जुम्लाका युवा कृष्णबहादुर शाहीले बताउँछन् । `गाउँमा रोजागरी नभएपछि अब मजदुरीका लागि भारत जाँदैछौँ`, उनले भने, `हामी युवा केवल कसैलाई सत्तामा पु¥याउने भ¥याङ मात्र बनिरहेका छौँ ।` शाही जस्तै मजदुरीका लागि हजारौँ युवा कालापहाड लागेका छन् । जीविकोपार्जन गर्ने आधारभूत आवश्यकताबाट विमुख भएका यहाँका युवा रोजगारी गर्न पाँच÷छ महिनाका लागि भए पनि वर्षैपिच्छे भारतीय भूमिमा जानुपर्ने बाध्यता छ । 

राजनीतिमा साधनका रुपमा प्रयोग भइरहने अवस्थाबाट युवा बाहिर निस्कनु पर्दछ । त्यही अवस्थाबाट रहिरहे उनीहरु माथि नउठ्ने चन्दननाथ नगरपालिका–८ जुम्लाका धर्मसिंह कठायत बताउँछन् ।  उनी भन्छन्, “चुनावका बेला मात्र रोजगारी र विकासका कुरा गर्ने नेताको क्षणिक आशय मात्र चुनाव जित्ने हो भन्ने कुरा हामी युवाले बेलैमा बुझ्नुपर्दछ ।”

युवा नेत्री लक्ष्मीकन्या बुढा जित्ने र जिताउने समयमा दिइने कोरा आश्वासन दीर्घकालीन समस्या समाधानको मुद्दा नभएको बताउँछन् । उनले भने, `मूलतः राज्य र त्यसको नेतृत्व गर्ने सरकारले मुलुकको समग्र समस्याको हल हुने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति अनि त्यसको प्रभावकारी कार्यान्वयन गर्ने बलियो संयन्त्र निर्माण गर्नुपर्दछ । कृषिमा नयाँ प्रविधि र त्यसप्रतिको आकर्षण बढ्ने नीति तथा कार्यक्रम सरकारले ल्याउनुपर्दछ । यसले आत्मनिर्भर समाज बन्न सहयोग पुग्नेछ ।`

कर्णालीका वामपन्थी बुद्धिजीवी तथा पुराना कृषक रामकृष्ण बुढ्थापाले तीनवटै सरकार हुँदा पनि युवा विदेसिनुपर्ने बाध्यता आइलाग्नु मुलुकको नेतृत्वको ठूलो कमजोरी रहेको टिप्पणी गरे ।  `युवालाई श्रम र सहकारीसँग नजोडेसम्म आत्मनिर्भर अर्थतन्त्रको विकास हुन सक्दैन,` बुढ्थापाले भने, `यसमा सरकारको नीति र त्यसको प्रभावकारी कार्यान्वयनमा भर पर्दछ ।` कर्णालीको कृषि, पर्यटन, जडीबुटी क्षेत्रले यहाँका बेरोजगार युवालाई रोजागरी दिन सक्ने भन्दै यसको लागि सरकारले दूरगामी योजना तथा कार्यक्रम ल्याएर त्यसको प्रभावकारितामा जोड दिनुपर्ने उनको भनाइ छ । 

सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिकाका दले विकले जुनसुकै पार्टी तथा तिनका उम्मेदवारहरुले चुनाव जित्नका लागि गलत आश्वासन दिने गरेको बताए । चुनावमा हरेकको घरमा पसेर नमस्कार गर्दै उम्मेदवारहरुले भन्दै आएका छन्, `हामीलाई जिताउनुस् बेरोजगारी समस्या हटाइन्छिौँ । कोही विदेश जानुपर्दैन । हजुरहरुको समाजमा भएका सबै समस्या हल गर्छौं ।`

चुनाव जिते वा हारेपछि भने ती उम्मेदवारहरु कहिल्यै पनि गाउँ नफर्केको उनले गुनासो सुनाए । नयाँले गर्छन् कि भन्ने आशले जिताए पनि कालापहाड जाने समस्या कहिल्यै नछुटेको उनको भनाइ छ । सबै नेताले गरिब, दलित र सोझासिधा नागरिकको भोट लिएर आफ्नै दुनो सोझ्याउने काम गरेको विकले दुःखेसो पोखे । 

चुनावमा मतदान गरेर मजदूरीका लागि कर्णाली प्रदेशका पहाडी जिल्लाहरुबाट दिनहुँ युवाको ठूलो लर्को भारततिर लाग्ने गरेको छ । उत्पादनशील जनशक्ति गाउँमा देखिँदैन । गाउँमा रहेका अशक्त, ज्येष्ठ नागरिक, महिला तथा बालबालिका पनि उच्च हिमाली भेगमा बढ्दै गएको जाडोले घरबाहिर आउन सक्ने अवस्था हुँदैन ।

अशिक्षित, पढ्दापढ्दै अध्ययन छाडेका र उच्च शिक्षासम्म अध्ययन गरेका पनि रोजगारी नपाएर बसेका हजारौँ युवालाई स्वदेशी श्रम बजारमा काम पाइन्छ भन्नेमा विश्वास छैन । उनीहरु कति त खाडी मुलुकमा गइसकेका छन् भने बाँकी सबै कामका लागि कालापहाडमा । युवा विदेसिने सङ्ख्या बढ्दै जाँदा गाउँका खेतबारीसमेत बाँझिएका छन् ।

जमिन बाँझिदा अन्न उत्पादन हुन छोडेको छ । हिजो आफ्नै उत्पादनमा आत्मनिर्भर गाउँहरु पछिल्लो समयमा आयातमुखी बन्दै गएका छन् । यसले गर्दा धान, मकै, कोदो, जौ, चिनो, कागुनो, उवा, मार्से, लट्टे, भट्टजस्ता रैथानी अन्नबाली लोप हुने अवस्थामा छन् । उत्पादनशील जनशक्ति देश बाहिर जाने प्रवृत्ति बढेपछि एक दशकयता कर्णालीमा रैथाने बालीको उत्पादनमा निकै ह्रास आएको छ ।  रासस


Author

थप समाचार
x