कर्णाली

कर्णालीका नवनिर्वाचित सांसदले सोमबार शपथ लिने

इकागज |
पुस ७, २०७९ बिहीबार १८:३२ बजे

सुर्खेत- कर्णाली प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूको शपथ यही पुस ११ गते सोमबार हुने भएको छ ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार पुस ११ गते शपथ गराउने तयारी भएको हाे । शपथ ग्रहणका लागि प्रदेश सभा सचिवालयले सबै तयारीहरू पूरा गरिसकेको छ । प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणका लागि तयारी पूरा गरिएको जानकारी दिए ।


भौतिक पूर्वाधार निर्माण, संसदीय दलहरूको कार्यालयको व्यवस्थापनदेखि संसद् भवनलाई रङरोगन गर्नेलगायतका सम्पूर्ण कार्य सम्पन्न भइसकेको बुढाथोकीले बताए ।

संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले निर्वाचन परिणाम घोषणा भएको २० दिनभित्र अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार कार्यक्रमको तयारी थालिएको छ । सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल प्रदेश सभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्थाबमोजिम बैठक सञ्चालन हुने जनाइएको छ ।

प्रदेश सभामा सबैभन्दा ज्येष्ठ सदस्यका रूपमा नेकपा एमालेका विनोदकुमार शाह छन् । शाह दैलेख निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित शाह एमालेका प्रदेश अध्यक्षसमेत हुन् । जेष्ठ सदस्य शाहलाई प्रदेश प्रमुखले शपथ गराउने र त्यसपछि शाहले प्रदेश सभाका अन्य सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय गरिएको छ ।


Author

थप समाचार
x