कर्णाली

कर्णाली : मुख्यमन्त्रीमा दोहोरिने शाहीको दाउमा ब्रेक लाग्‍ने संकेत

इकागज |
पुस ११, २०७९ सोमबार ११:२३ बजे

सुर्खेत - कर्णाली प्रदेशमा सांसदहरूको शपथग्रहणसँगै सरकारको नेतृत्वको विषयमा चर्चा सुरु भएको छ । केन्द्रमा नेकपा एमालेसहितको सहयोगमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमतिसँगै कर्णालीमा पनि यसको असर परेको छ । 

यदि केन्द्र सरकारको जस्तै कर्णालीमा पनि गठबन्धन बनेको खण्डमा पुनः मुख्यमन्त्रीमा दोहोरिने दाउमा रहेका जिवनबहादुर शाहीको सम्भावना देखिँदैन ।  केन्द्रमा सरकारको नेतृत्व माओवादीले पाएसँगै कर्णालीमा एमालेले नेतृत्व पाउन सक्ने आँकलन गरिएको छ । 


नेकपा र एमाले विभाजनको केन्द्रबिन्दु बनेको कर्णालीमा एमालेबाट सम्भावित व्यक्तिको रुपमा यामलाल कँडेल देखिएका छन् । प्रदेशमा माओवादीको १३ र एमालेको १० गरी २३ सिट हुन्छ । ४० प्रदेश सभा सदस्य रहेको कर्णालीमा सरकार बनाउन २१ जना सांसद आवश्यक पर्छ । ​

कांग्रेससँग १४ सिट छ यदि स्वतन्त्रको १, राप्रपाको १ र एकीकृत समाजवादीको एक सिट साथमा लिए पनि कांग्रेसको बहुमत पुग्दैन । यदि एमाले–माओवादीबीच समीकरण बनेको खण्डमा कांग्रेसका जीवनबहादुर शाहीको सम्भावना नरहने  करिब निश्चित जस्तै देखिएको छ । 

तर माओवादीले अन्य प्रदेश छाडेर कर्णालीमा माओवादीकै नेतृत्वमा सरकार बन्ने सम्भावना पनि अर्को थरी हुनसक्छ । अन्य प्रदेश भन्दा कर्णालीमा माओवादीको सिट सङ्ख्या धेरै भएकाले पनि माओवादीले मुख्यमन्त्रीमा दावी गर्ने देखिएको छ । 

यदी माओवादीबाट मुख्यमन्त्रीको नेतृत्व लिएमा माओवादीबाट रुकुम पश्चिमका राजकुमार शर्मा र सुर्खेतका विन्दमान विष्टको नाम चर्चा कायमै छ ।


Author

थप समाचार
x