कर्णाली

के कँडेलको मुख्यमन्त्री बन्ने चाहना पूरा होला ?

इकागज |
पुस १२, २०७९ मंगलबार २१:४० बजे

सुर्खेत- २०७४ मा कर्णालीमा एमाले पहिलो राजनीतिक शक्ति बने पनि मुख्यमन्त्री माओवादीको भागमा परेपछि एमालेका सांसद यामलाल कँडेलको मुख्यमन्त्री बन्ने चाहना अधुरै रहेको थियो । उतिबेला मुख्यमन्त्री बन्ने चाहनाले उनी प्रदेशसभामा झरेका थिए । तर, मुख्यमन्त्री माओवादीको भागमा परेपछि प्रदेश सरकारको नेतृत्व गर्नबाट एमाले वञ्चित भएको थियो ।

४० सदस्यीय सभामा ०७४ मा एमालेका २० सांसद थिए । त्यतिबेला एमालेलाई सरकार बनाउन १ सिट अपुग थियो । उतिबेला माओवादी  नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भए । पछि कँडेलले मुख्यमन्त्री आलोपालो हुनुपर्ने बताएका थिए तर कँडेलले मुख्यमन्त्री बन्नका लागि आफ्नै दलका सांसदबाट साथ पाएनन् । 
२५ असोज ०७७ मा मुख्यमन्त्री शाहीविरुद्ध कँडेलले अविश्वासको प्रस्ताव ल्याए तर तत्कालीन एमाले माधवकुमार नेपाल पक्षका चार जना नेताले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाइदिएपछि कँडेलको मुख्यमन्त्री बन्ने सपना अधुरै रहेको थियो । अन्ततः प्रत्यक्षमा १ सिट जितेको कांग्रेसले सरकारको नेतृत्व गर्न पाउँदा एमाले प्रतिपक्षमा बस्न बाध्य भयो ।


यसपटकको चुनावमा पनि मुख्यमन्त्री बन्ने चाहनाले आफूभन्दा जुनियरलाई प्रतिनिधिसभामा उठाएर आफू प्रदेशसभामा झरेका हुन् । यसपटक कर्णालीमा तेस्रो स्थानमा रहेको एमालेलाई मुख्यमन्त्री बन्ने अवसर छ । जसको सम्भावना बोकेका छन् एमाले नेता कँडेल । यद्यपि उनलाई एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले दल नेताका लागि चुनौती दिइरहेका छन् ।

एकाएक केन्द्रीय राजनीतिमा आएको परिवर्तनसँगै यतिबेला कर्णाली सरकारको नेतृत्व कसले गर्ने भन्नेमा चर्चा सुरु भएको छ । पुरानो गठबन्धन भत्किएसँगै नयाँ बनेको सत्ता गठबन्धनबाट कसले नेतृत्व भन्ने विषयमा एमाले र माओवादीका आ-आफ्नै दाबी रहेका छन् । नेपाली कांग्रेसका जीवनबहादुर शाहीको मुख्यमन्त्रीमा निरन्तरता पाउने सपनामा ‘ब्रेक’ लागेपछि एमालेका यामलाल कँडेल मुख्यमन्त्री बन्ने लाइनमा सामेल भएका छन् ।

उता नेकपा माओवादीले पनि मुख्यमन्त्री बन्न पाउनुपर्ने अडान राख्दै आएको छ । अब कर्णालीमा एमाले–माओवादीबीच पहिला सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा चर्चा सुरु भएको छ । तर, अहिलेसम्म एमाले–माओवादी दुवैले संसदीय दलको नेता भने चयन गर्न सकेका छैनन् । ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि कम्तीमा २१ सांसदको समर्थन आवश्यक पर्दछ ।

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रको १३, एमालेको १० र राप्रपाको १ सांसद छन् । एमालेबाट संसदीय दलको नेतामा एमाले स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश इञ्चार्ज कँडेलको सम्भावना बलियो छ भने एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले पनि आफ्नो अडान कायम राखेका छन् । उनले पनि आफ्नो दाबी स्वाभाविक रहेको प्रतिक्रिया दिएका छन् ।

एमाले र माओवादीले दल नेताका लागि बुधबारसम्म टुङ्गो लगाइसक्ने जनाएका छन् । माओवादीभित्र पनि संसदीय दलका लागि रुकुम पश्चिम (ख) बाट निर्वाचित राजकुमार शर्माको सम्भावना बलियो देखिएको छ । त्यसैगरी सुर्खेत २ (२) बाट निर्वाचित सांसद विन्दमान विष्टको पनि नाम चर्चामा छ ।


Author

थप समाचार
x