कर्णाली

कर्णालीको मुख्यमन्त्रीमा अब कँडेल कि शर्मा ?

इकागज |
पुस १४, २०७९ बिहीबार १७:५२ बजे

सुर्खेत। कर्णालीमा नेकपा माओवादी र एमालेमध्ये कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषय अहिले चर्चा र बहसको विषय बनेको छ । यद्यपि मुख्यमन्त्री आफ्नो दलको नेतृत्वले पाउनुपर्छ भन्ने दुवै दलको आ आफ्नै दावी रहेको छ ।

केन्द्रीय राजनीतिमा फेरबदल आएसँगै नेपाली कांग्रेसले अब कर्णालीमा सरकार बनाउने हैसियत गुमाएको छ । त्यसकारण कर्णालीमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धन सरकार बन्ने अवस्था छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन २१ जना प्रदेश सभा सदस्यको आवश्यकता पर्छ । हाल सत्ता गठबन्धनका २३ जना सांसद रहेका छन् । नेकपा माओवादी केन्द्रका १३ र एमालेका १० जना प्रदेश सभा सदस्य रहेका छन् । जुन सरकार गठनका लागि पर्याप्त बहुमत हो ।


मुख्यमन्त्री पाउनुपर्ने दुवै दलको अडानका कारण प्रदेशमा सरकार गठनका लागि केन्द्रको निर्णय कुरेको अवस्था छ । अघिल्लो कार्यकालमा आफ्नो बहुमत हुँदाहुँदै पनि सरकारको नेतृत्व गर्न नपाएका कारण यसपटक एमालेले मुख्यमन्त्री पाउनुपर्ने एमालेको अडान छ ।

त्यसैगरी कर्णालीमा आफूहरुको बलियो पकड भएका कारण आफूहरु मुख्यमन्त्री पाउनुपर्ने माओवादीको अडान छ । तथापि दुवै दलको आ आफ्नै अडानका कारण सरकार गठनको लागि केन्द्रको निर्णय पर्खाइमा रहेका छन् । कर्णालीमा यदि एमालेको नेतृत्वमा सरकार गठन भए यामलाल कँडेलले मुख्यमन्त्री पद पाउँछन् भने माओवादीबाट नेतृत्व गरेको खण्डमा राजकुमार शर्माले मुख्यमन्त्री पद प्राप्त गर्नेछन् ।

अघिल्लो कार्यकालमा नेकपा (एमाले)कै समर्थनमा नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री पाएकाले यसपटक स्वाभाविक रूपमा नेकपा (एमालेले मुख्यमन्त्री पाउनु पर्ने एमाले नेताको भनाइ छ । यद्यपि केन्द्रमा नै प्रदेशको नेतृत्व कसले लिने भन्ने विषयमा छलफल भएपछि मात्र कसले नेतृत्व गर्ने भनेर टुंगो लाग्ने एमाले संसदीय दलका नेता यामलाल कँडेलले बताएका छन् ।

नेकपा (माओवादी केन्द्रका नेताहरु पनि मुख्यमन्त्री आफ्नो दलले नेतृत्व गर्नुपर्ने दावी गरेका छन् । प्रदेश सभा सदस्य एवं माओवादी संसदीय दलका नेता समेत रहेका राजकुमार शर्माले प्रदेशको मुख्यमन्त्रीमा आफूहरूको दाबी रहेको र सोहीअनुसार नै छलफल अघि बढाउने प्रतिक्रिया दिए । यस विषयमा केन्द्रबाट नै टुङ्गो लगाउने र सोही अनुसार अघि बढ्ने बताए ।


Author

थप समाचार
x