कर्णाली

कर्णालीमा कोभिड रोकथाम तथा नियन्त्रण गर्न एक अर्ब

इकागज |
बैशाख १६, २०७८ बिहीबार १७:३८ बजे

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न एक अर्ब रुपैयाँ बजेट छुट्याएको छ । महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि एक अर्ब बजेट छुट्याइएको कर्णाली सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् । उनकाअनुसार ५० करोड विकास खर्चबाट रकमान्तरगरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको छ । महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि तत्काल प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

कर्णाली प्रदेश सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवत्ता केसीले प्रदेश भित्रिने चारवटा नाकाहरूमा थप स्वास्थ्यकर्मीसहित एन्टिजेन परीक्षण र स्क्रिनिङको व्यवस्था मिलाएको  बताइन् । केसीले चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पतालहरू र रणनैतिक अस्पताललाई १२ करोड रुपैयाँ बजेट निकासा गरी पठाइएको बताइन् । 


प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहभागितामा सर्वदलीय संयन्त्र निर्माणगरी कोभिड नियन्त्रणमा लाग्ने प्रस्ताव प्रदेशसभामा लैजान खोज्दा प्रमुख प्रतिपक्षी दलले अवरोध गरेको उनले बताइन् । कर्णाली प्रदेशसभामा थोरै जनप्रतिनिधि भएकाले स्वास्थ्यका आधारभूत मापदण्डहरू अपनाएर प्रदेशसभा सञ्चालन गर्न सकिने केसीको भनाइ छ ।

त्यसैगरी कर्णाली प्रदेश सरकारले कोरोनाका जटिल बिरामीको उपचारका लागि दुर्गम जिल्लाहरूमा हेलिकोप्टरको व्यवस्था गर्ने निर्णय यस अघि गरिसकेको छ । कर्णाली सरकारले जिल्लाका सुगम स्थानहरुमा एम्बुलेन्स र दुर्गममा हेलिकोप्टरको व्यवस्था गर्ने निर्णय गरेको हो ।


Author

थप समाचार
x