कालीकोट र दैलेख सडक सञ्जालले जोडिए
फाइल तस्बिर
मान्म- कालीकोट र दैलेख एकापसमा सडक सञ्जालले जोडिएका छन् । कालीकोटको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिका सडक सञ्जालले जोडिएका हुन् ।
दैलेखको सदरमुकाम नारायण नगरपालिका, महावु गाउँपालिका हुँदै कालीकोटको महावै गाउँपालिकाको केन्द्र नजिकै ओदासम्म सडक सञ्जालले जोडिएका छन् ।
नेपाल सरकारले प्राथमिकतामा राखेको त्रिदेशीय सडक खण्डका रूपमा लिइएको छ । यो सडक नेपालगञ्ज, सुर्खेत, दैलेख सदरमुकाम, महावु, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा हुँदै चीनको नाग्चेनाम्लासँग सहज यातायात जोड्ने सडकका रूपमा लिइएको कालीकोटको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।
'यो सडक कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट जुम्ला छोटो मार्ग हो,' उनले भने, 'पहिलो पटक ट्र्याक खुलेको छ, स्तरोन्नतिको कामका लागि प्रदेश र सङ्घ सरकारले बजेट विनियोजन गरेका छन् ।'
अब केही दिनमै सडक गाउँपालिका केन्द्र पादमघाट पुग्ने गाउँमा अध्यक्ष सिंहले जानकारी दिए । 'यसअघि मान्मदेखि सेरावाडा हुँदै भैँसेगौँडाको पुल भएर चिल्खाया हुँदै गाउँपालिका केन्द्र गाडी पुगेका थिए,' उनले भने, 'वर्षातले भैँसेगौँडा पुल बगेपछि सडक सञ्जालबाट सम्बन्धविच्छेद भएको थियो ।'
महावै लेकको रक्साडको चट्टान फोडेर यातायातका साधन दैलेखदेखि महावु हुँदै कालीकोटको महावै गाउँपालिका केन्द्र नजिकैको ओदा गाउँ पुगेको नेकपा (एकीकृत समाजवादी)का जिल्ला सचिव चित्रसिंह गाउँलेले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया