नागरिक उन्मुक्ति पार्टीले सभामुखमा माओवादीका भण्डारीलाई भोट दिने
कैलाली- नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ अचानक धनगढी आइपुगेकी छिन् । धनगढी पुगे लगत्तै उनले आफ्ना प्रदेश सांसदहरूलाई बैठकमा बोलाएकी छिन् । धनगढीको एक होटलमा अध्यक्ष श्रेष्ठ र सांसदहरूबीच भेटवार्ता चलिरहेको छ ।
उन्मुक्तिका सांसदले भोट नदिँदा २ पटकसम्म सभामुख पाउन नसकेको सुदूरपश्चिम प्रदेश सभा बस्नु एक दिन अगाडि अध्यक्ष श्रेष्ठले आफ्ना सांसदहरूसँग छलफल सुरु गर्नुलाई तर्कपूर्णरूपमा हेरिएको छ ।
भोलि हुने सभामुखको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार माओवादीका भीमबहादुर भण्डारीलाई भोट दिने उन्मुक्तिका अध्यक्ष श्रेष्ठले इकाजलाई बताइन् । उनले अहिले बैठक चलिरहेको बताए पनि आफ्नो पार्टीको समर्थन भण्डारीलाई रहने जानकारी दिइन् । सरकारमा सहभागिता जनाउनेबारे भने छलफलपछि मात्रै टुंगो लाग्ने बताइन् ।
यसअघि दुई पटकसम्म बहुमत पुर्याउन नसकेर सभामुख निर्वाचन हुन नसकेको सुदूरपश्चिम प्रदेशमा आज पुन: सभामुख निर्वाचन सकेर उपसभामुखको पनि निर्वाचन गर्नुपर्ने बाध्यता रहेको थियो । तर, आज देशभर शोक बिदा दिइएकाले निर्वाचनको प्रक्रिया स्थगित गरिएको प्रदेश सभा सचिवालय सुदूरपश्चिम प्रदेशले जानकारी यसअघि नै गराइसकेको छ ।
प्रदेशमा कांग्रेसबाट मानबहादुर रावल र माओवादी केन्द्रबाट भीमबहादुर भण्डारी सभामुखका लागि उम्मेदवार छन् । यसअघि माघ २८ र ३० गते भएको निर्वाचनमा दुवैले बहुमत ल्याउन सकेका थिएनन् ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया