कर्णाली

कर्णालीमा कुष्ठरोगीको संख्या घट्दो

इकागज |
माघ १७, २०७९ मंगलबार १७:४४ बजे

सुर्खेत- कर्णाली प्रदेशमा कुष्ठरोगीको संख्या घट्दो क्रममा रहेको छ । कर्णाली प्रदेशमा सात वर्षमा ६ सय ४४ नयाँ कुष्ठरोगी फेला परेका छन् भने हाल ८४ जना कुष्ठरोगका बिरामी उपचारमै रहेका छन् ।

आर्थिक वर्ष २०७२/०७३ देखि आर्थिक वर्ष २०७८/०७९ सम्म सात वर्षको अवधिमा प्रदेशभर सो संख्यामा कुष्ठरोगका बिरामी फेला परेको समेत निर्देशनालयले जानकारी दिएको छ । प्रदेशका दश जिल्लामा गरी ८४ जनाले उपचार गराउँदै आएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।


निर्देशनालयका अनुसार सुर्खेतमा १५ जना, दैलेखमा १२, सल्यानमा ११, रुकुमपश्चिममा ११, जाजरकोटमा ११, जुम्लामा १०, कालिकोटमा ८, हुम्लामा २, डोल्पामा २ र मुगु जिल्लामा २ जना बिरामी रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका क्षयकुष्ठ अधिकृत पदमबहादुर केसीले जानकारी दिए । संक्रमितहरूकाे जिल्लाका स्वास्थ्य संस्था, प्राथमिक स्वास्थ्य चौकीलगायतमा उपचार भइरहेको छ ।

हाल कर्णालीमा कुष्ठरोग निवारणकै अवस्थामा रहेको समेत निर्देशनालयको भनाइ छ । प्रति दश हजार जनसंख्यामा १ जनाभन्दा कम बिरामी भएको अवस्थालाई निवारणको अवस्था मानिन्छ ।

केसीले प्रभावकारी र बहुउपयोगी औषधि र निःशुल्क उपचारका कारण कर्णालीमा कुष्ठरोग निवारणतर्फ उन्मुख भएको जानकारी बताए । कुष्ठरोग दुई प्रकारको हुन्छ । शरीरमा कम कीटाणु भएको बिरामीले ६ महिना र बढी कीटाणु भएकाले १२ महिनासम्म औषधि सेवन गर्नुपर्ने केसीको भनाइ छ । 
 


Author

थप समाचार
x