कर्णाली

घर नजिकै खानेपानी आएपछि टोम्टाल्लावासी हर्षित

जितेन्द्र थापा |
बैशाख २१, २०७८ मंगलबार १३:१७ बजे

दैलेख(ठाटीकाँध) : दैलेखको ठाटीकाँध गाउँपालिका–२ टोम्टाल्ला कि ५० वर्षीय नन्दकला विक पहिले आधा घण्टाको बाटो हिडेर खानेपानी बोक्थिन् ।  वर्षात्‍मा पानीमा भिज्दै ठूलो गाग्री बोकेर धारामा पुग्थिन् भने हिउँदको कठ्याग्रिदो जाडोमा पानी पानी बोक्‍नै पर्थ्‍यो ।

अहिले अल्छिवाडी किमडीखोला खानेपानी तथा सरसफाई योजना सम्पन्न भएपछि उनी खुसी भएकी छिन् ।  आधा घण्टाको बाटो हिँडेर पानी ल्याउने विक अहिले घर नजिकै धारा बनेपछि दंग छिन् । पहिले खानेपानीको निकै समस्या थियो,’ नन्दकलाले भनिन्, ‘अहिले घर नजिकै धारामा पानी झर्दा निकै सुविधा भएको छ ।’ घर नजिकै धारमा पानी आउन थालेपछि उनी मात्रै होइन वडा नम्‍बर १ खातीगाउँ र २ टोम्टाल्लावासी खुसी छन् ।


घरनजिकै धारमा पानी आएपछि नुहाउन र लुगाधुन पनि सजिलो भएको स्‍थानीय बताउँछन् ।  'पहिले आधा घण्टा हिँडेर ल्याएको पानी शुद्ध हुन्थेन,' गाइगोरुले पिउने पानी पिइरहेका थियौँ,  उनले भनिन्, ‘अहिले निकै सुविस्ता भयाको (सुविधा) छ । वर्षौदेखिका मैला कपडा धुन पायाका छौँ ।’

दुइवटा मुहानको पानी एकै ठाउँमा मिसाएर ल्‍याएपछि गाउँमा पानीको समस्या समाधान भएको वडा नम्बर १ का नौले विकले बताए ।  ठाटीकाँध गाउँपालिकाको १९ लाख ९ हजार पचास ९९ रुपैयाँ, नेपाल सरकारको चार लाख ५० हजार, फिनल्याण्ड सरकारको ५ लाख ५० हजार र १० लाख बराबरको श्रमदानबाट खानेपानी आयोजना सम्पन्न भएको आयोजनाका जलस्रोत प्राविधिक विष्णु रावतले बताए । 

अल्छिवाडी किमडीखोला खानेपानी योजनाबाट १ र २ नम्बर वडाका करिब ४९ घरधुरी लाभान्वित भएका छन् । असारमा सम्पन्न गर्ने अन्तिम मिति भए पनि दिनरात खटिएर काम गर्दा समयाविध अगावै काम सम्‍पन्‍न भएको अल्छिवाडी किमडीखोला खानेपानी तथा सरसफाई योजना उपभोक्ता समितिका अध्यक्ष धनबहादुर विकले बताए ।


Author

थप समाचार
x