कर्णाली

कुपोषित बालबालिका बढ्दै

इकागज |
फागुन १३, २०७९ शनिबार १८:४७ बजे

सुर्खेत- सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्न थालेको पाइएको छ ।

जनस्वास्थ्य कार्यालय सुर्खेतका जिल्लामा कुपोषित बालबालिकाको संख्या बढेको पाइएको हो । कार्यालयले ११ महिना उमेरसम्मका बालबालिका र १२ देखि २३ महिना उमेर समूहका गरी कूल १३ हजार सात सय २४ जना बालबालिकामा परीक्षण गरेको थियो । परीक्षणका क्रममा अधिकांश बालबालिकाहरूमा कुपोषण भएको पाइएको हो ।


आर्थिक वर्ष २०७६/०७७ मा सुर्खेतमा कुपोषित बालबालिकाको संख्या दुई सय ४६ जना रहेको थियो भने २०७७/०७८ मा दुई सय ४८ जना बालबालिका कुपोषित थिए । यसैगरी २०७८/०७९ मा भने यो संख्यामा वृद्धि भई चार सय ७५ जना पुगेको छ ।

जिल्लाको पालिकागत रूपमा हेर्दा कुपोषित बालबालिकाहरूको संख्या सबैभन्दा धेरै भेरीगंगा नगरपालिकामा छ । २०७६/०७७ मा भेरीगंगा नगरपालिकामा कुपोषित बालबालिकाको संख्या २७ जना थियो भने अहिले यो संख्या बढेर २०७८/०७९ को अन्त्यमा एक सय २१ जना पुगेको छ ।

सिम्ता गाउँपालिकामा ४३ जना, चिङ्गाड गाउँपालिकामा ३९ जना, लेकवेशी नगरपालिकामा ५४ जना, गुर्भाकोट नगरपालिकामा १९ जना, वीरेन्द्रनगर नगरपालिकामा एक सय तीन जना, बराहताल गाउँपालिकामा २३ जना, पञ्चपुरी नगरपालिकामा ३२ जना रहेका छन् । यस्तै चौकुने गाउँपालिकामा ४१ जना बालबालिका कुपोषित रहेको जनस्वास्थ्य कार्यालयको तथ्यांक छ ।

२०७८/०७९ मा सुर्खेत जिल्लामा एक वर्षमुनिका बालबालिकाको संख्या सात हजार एक सय २७ जना रहेको थियो । तर, सोही आर्थिक वर्षमा ६ महिनासम्म स्तनपान मात्रै गराएका शिशुहरूको संख्या भने तीन हजार चार सय १७ जना रहेको छ । 


Author

थप समाचार
x