कर्णाली

आगामी बजेटमा कर्णालीलाई प्राथमिकतामा राखिन्छ : उपसभापति खड्का

इकागज |
फागुन २०, २०७९ शनिबार १९:५७ बजे

सुर्खेत- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीलाई बजेटमा प्राथमिकता दिने बताएका छन् ।

नेपाली कांग्रेस गुर्भाकोटको प्रथम नगर सभालाई सम्बोधन गर्दै खड्काले आगामी आर्थिक वर्षको बजेट कर्णालीलाई प्राथमिकतामा राखेर आउने बताएका हुन् । उनले ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली र सुदूरपश्चिममा संघीय बजेट न्यून आउने गरेको यसअघिको परम्परालाई तोड्दै आगामी आर्थिक वर्षको बजेट कर्णाली र सुदूरपश्चिमलाई केन्द्रमा राखेर ल्याइने औंल्याए ।


उनले चुनावी अभियानका क्रममा जनतासँग वाचा गरिएका काम पूरा गर्ने जनाएका छन् । ‘कर्णालीका जिल्लाहरूमा भएका चुनावी अभियानका क्रममा मैले नै कर्णालीलाई बजेटमा प्राथमिकता दिने प्रस्ताव राखेको थिएँ । त्यसमा अहिलेका प्रधानमन्त्री प्रचण्डले समर्थन जनाउनु भएको थियो,’ उपसभापति खड्काले भने, ‘चुनावका बेला गरेको वाचा आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन हुन्छ ।’

खड्काले भेरी किनारमा नयाँ शहर निर्माणको काम सुरु गरिएको बताउँदै छिन्चुदेखि उत्तर जोड्ने सडकलाई फोरलेनको बनाउनका लागि ठेक्का आव्हान गरिएको बताए । उनले मदन भण्डारी राजमार्ग कालोपत्रेको काम भइरहेको, भेरीको टापु खटाङमा तीन मुखे झोलुङ्गे पुलको निर्माणका लागि माटो परीक्षणको काम भइरहेको बताउँदै कांग्रेस नेतृत्वमा भएका र हुँदै गरेका कामहरू आम जनतामाझ पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताए ।

उपसभापति खड्काले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि नयाँ सरकार गठनका विषयमा छलफल हुने बताए ।


Author

थप समाचार
x