कर्णाली

'बाजाका राजा'हरूको व्यथा : २ महिना काम, १० महिना आराम

जितेन्द्र थापा |
बैशाख २३, २०७८ बिहीबार १४:५० बजे

दैलेख(ठाटीकाँध) : जिल्लाको ठाटीकाँध गाउँपालिका–२ का भोजने नेपाली उमेरले ६ दशक पार भए । ओठमाथि सेतै जुङ्गा । शीरमा टलक्कै टल्कने सेतो रुमाल (पगढी), सेतो झकुलामाथि घाँटीमा रातो गल्बन्दी। ६३ वर्षीय नेपालीलाई वैशाख लागेदेखि शुभ कार्यमा जान भ्याइनभ्याइ छ । 

विवाह, व्रतबन्ध, चौरासी पूजाजस्ता धार्मिक कार्यमा उनको समूह दुई नम्बर वडाभरि पुग्छ । परिवारको पालनपोषण गर्न युवाजस्तै बन्नु परेको उनको भनाइ छ । 
१५ वर्षको उमेरदेखि नै बुवा र हजुरबाको पछि लागेर नौमती बाजा बजाउन सिकेका भोजनेको अहिले दुइ नम्बर वडाभरिमा ‘बाजाका राजा’ मानिन्छन् । 


भोजने नाम जस्तै उनले देखाएको कला देखेर हेर्ने दर्शकलाई भोजन गरेजस्तै हुन्छ जब उनले कला प्रस्तुत गर्छन् । सबै दर्शकको ध्यान उनी र उनको बाजातिर जान्छ । पन्ध्र वर्षको उमेरदेखि अहिलेसम्म बाजा बजाउदै आएका भजनेको जीवन र व्यवहारमा कुनै परिवर्तन आएको छैन । न त उनले बजाउने बाजा फेरिएका छन् न शैली । ‘कमाई काज हुने भनेको वैशाख र मंसिर महिनामा मात्रै हो,’ उनले भने, ‘यिनै महिनामा दुई दिन पुरै कस्सिएर बजाएबापत् पन्ध्रसय ज्याला पनि हुँदैन ।’

मेहेनतअनुसारको फल पाउन नसकेको उनको भनाइ छ । त्यस्तै अर्का पदम नेपाली पनि ७० वर्षका पुग्नै लागे । बा–बाजेको पछि लागेर बाजा बजाउन सिकेका उनलाई अहिले पनि पूरानै शैलीमा बाजा बजाउनु परेको गुनासो छ ।  

उनी भन्छन्, ‘पहिले बा–बाजेले बजाएको देखेर दाँतको इसाराले बजाउन सिक्यौ । अहिले छोरा नातीलाई त्यही सिकायौँ । छोरा नातीले पूरानो शैली नअपनाउँदा पञ्चे बाजा नै लोप हुने हो कि भन्ने चिन्ता लाग्छ ।’

अन्यत्र पञ्चे बाजा बजाउन विभिन्न तालिम गोष्ठीको आयोजना गरिएको सुने पनि  दैलेखममा यस्तो कुरामा कसैले चासो नदेखाएको उनको गुनासो छ । ‘हामीसँग ५० वटा नौमती बाजा र  दमाह छन् । तर, ती सबै मर्मत गर्न नसकेर घरमै थन्किएका छन् । १८ वटा बाजा मात्र चलेका छन्’ उनले भने । भनेजति श्रमको ज्याला नदिँदा नौमती बाजा बजाउन पछिल्लो पिढीँले भुल्दै गएको अर्का लालचने नेपालीले बताए ।


Author

थप समाचार
x