कर्णाली

कर्णाली प्रदेश

कांग्रेसले देला त विश्वासको मत ?

शाही भन्छन् : अहिलेसम्म छलफल नै भएको छैन

इकागज |
चैत १६, २०७९ बिहीबार १५:१२ बजे

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले भोलि (शुक्रबार) विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री शर्माले दिउँसो तीन बजे दोश्रो पटक कर्णाली प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।

केन्द्र सरकारमा पुरानै गठबन्धन कायम भएसँगै कर्णालीमा पुरानै गठबन्धन कायम रहला अथवा नयाँ गठबन्धन अनुसार अघि बढ्ने यो अन्योलको विषय रहेको छ । कर्णाली प्रदेश सभामा हाल कांग्रेसका १४ सांसद छन् भने माओवादीका १३ सांसद । यस्तै एमालेका १० सांसद रहँदा स्वतन्त्र, नेकपा एस र राप्रपाका एक/एक सांसद छन् ।


प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत छैन । यद्यपि हाल माओवादी र एमालेको गठबन्धन सरकार छ । राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका छन् ।

विश्वासको मत लिने क्रममा कांग्रेसले कस्तो भूमिका खेल्ला त भन्ने विषयमा सबैको ध्यान तानेको छ । हाल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले एमाले-माओवादीकै सरकार नै अघि बढ्न सक्ने सम्भावना पनि देखिएको छ ।

केन्द्रमा पुरानै गठबन्धनको सरकार अगाडि बढ्ने भएपछि प्रदेशमा पनि सोही अनुसार अघि बढ्ने बताइएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता जिवनबहादुर शाहीले कर्णालीमा पूर्ण संघीयता अनुसार अघि नबढेको बताउँछन् । ‘विश्वासको मत दिने/नदिने विषयमा अहिलेसम्म केही छलफल नै भएको छैन,’ शाही भन्छन्, ‘केन्द्रको सर्कुलर पनि आएको छैन ।’

कांग्रेसले देला त विश्वासको मत

चुनावका बेलामा मुख्यमन्त्री बनाउने सहमति भएपछि प्रदेशमा चुनाव लडेको नेता जिवनबहादुर शाहीले बताए । ‘त्यतिबेला एउटा सहमति भएकै थियो , अहिले फेरि अर्के छ,’ उनले भने, ‘कर्णालीमा पूर्ण संघीयता छ जस्तो लाग्दैन ।’

नेकपा माओवादी केन्द्रले भने सकेसम्म कर्णालीमा सबै दल मिलेर जानुपर्ने धारणा राख्दै आइरहेको छ । तर, यसमा कांग्रेस असहमत छ । यता, नेकपा एमालेले पनि संघीयतालाई कर्णालीबाटै कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिएको छ । एमाले कर्णाली प्रदेशका उपसचिव टेकराज पछाई कर्णालीमा मिलेर जानुपर्ने बताउँछन् ।


Author

थप समाचार
x