कर्णाली

कांग्रेसले विश्वासको मत दिएपछि सकसमा कर्णालीका मुख्यमन्त्री

इकागज |
चैत २०, २०७९ सोमबार १८:१४ बजे

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि मन्त्रिपरिषद् विस्तार गर्न सकस भएको छ ।

मुख्यमन्त्री शर्माले राप्रपाका एक सांसद बाहेक सबै दलको भोट प्राप्त गरेका छन् । केन्द्रमा पुरानै गठबन्धन कायम भएपछि प्रतिपक्षमा रहेको कांग्रेसले पनि मुख्यमन्त्री शर्मालाई गत शुक्रबार विश्वासको मत दिएको छ ।


अब सत्तामा कांग्रेस कहिले जाने, एमाले कहिले बाहिरिने भन्ने चर्चाको विषय बनेको छ । हाल एमालेले तीन वटा मन्त्रालय सम्हालेको छ । मुख्यमन्त्री शर्माले एमालेका मन्त्रीहरूलाई सरकार छाड्न निर्देशन दिएका छैनन् भने एमाले पनि सरकारबाट बाहिरिन चाहेको छैन । मुख्यमन्त्री आफैँले पनि प्रष्ट रूपमा सरकारलाई निकासा दिन सकेका छैनन् ।

एमालेका मन्त्रीले राजीनामा नदिने तथा माओवादी नेतृत्व हैसियत राखेर बर्खास्त नगर्दा समस्या भएको कांग्रेसका सांसदहरूको भनाइ छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही सत्तामा जाने/नजाने कुरा माओवादीमा नै निर्भर रहने बताउँछन् । माओवादीले भनेजस्तो तीन दलीय सहकार्यमा सत्ता सञ्चालन गर्न नसकिने शाहीको भनाइ छ ।

यता एमालेका प्रदेश अध्यक्ष एवं आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले मुख्यमन्त्री शर्मासँग सौहार्दपूर्ण वातावरण रहेको प्रतिक्रिया दिएका छन् । मन्त्री शाहले एमाले–माओवादीबीच अहिलेसम्म सरकार छाड्ने विषयमा कुनै कुरा नभएको बताए ।


Author

थप समाचार
x