कर्णाली

अक्सिजन जुटाउँदै सुर्खेतका युवा

एक हजार रुपैयाँ अभियानबाट चार लाख संकलन

इकागज |
बैशाख २६, २०७८ आइतबार १६:१ बजे

तस्वीर : अस्पतालमा पौष्टिक आहार सहयोग गर्दै युवा समूह

सुर्खेत : दोस्रो चरणको कोभिड १९ माहामारी बढिरहदा संक्रमितलाई अक्सिजनको अभाव देखिएपछि सुर्खेतका युवाहरु अक्सिजनको खोजी अभियानमा जुटेका छन् । कोभिड - १९ सेल्प, हेल्थ समूह मार्फत अस्पतालहरुमा रहेका बिरामीहरुलाई अक्सिजन जुटाउदै आएका हुन् । पत्रकार एंव समाजसेवी सुदिप पुरीको नेतृत्वमा धर्मराज आचार्य, मिलन श्रेष्ठ र खगेन्द्र पुरीले अभियानको नेतृत्व गरिरहेका छन् भने अभियानमा दुई सय बढी युवाहरु जोडिएका छन् । 

युवाहरुको यो समूहले अस्पतालहरुमा अक्सिजन सिलिण्डर अभाव भएमा त्यसको जोहो गरिदिने गरेको छ । ‘हामीसँग १० वटा सिलिण्डर छ, यो अक्सिजनको सिलिण्डर सिरियस भएका बिरामीलाई दिन्छौ’ समूहको नेतृत्व गरिरहेका सुदिप पुरीले भने, ‘अहिले कालागाउँ अस्पताल र स्वास्थ्य क्लिनिकमा दिएका छौ ।’ अहिलेसम्म सुत्केरी महिलासहित ३२ जना बिरामीलाई अक्सिजन सिलिण्डर सहयोग गरेको उनले बताए । 


त्यसैगरीे यो समूहले अस्पतालमा रहेका बिरामी र कुरुवाहरुलाई पौष्टिक खानेकुराहरु खुवाउँदै आएको छ । कोभिड माहामारी बढेर अस्पतालहरुमा अक्सिजनको अभाव भएपछि यो समूहले अभियान सञ्चालन गरेको हो । अक्सिजन अभाव हुँदा उपचारमा समस्या हुन नदिन र अकालमै नागरिकको ज्यान जान नदिन सुर्खेती युवाहरुले ‘अक्सिजन सिलिण्डरका लागि मेरो एक हजार’ अभियान सुरु गरेका हुन् । 

अहिलेसम्म अक्सिजन सिलिण्डरका लागि 'मेरो एक हजार रूपैयाँ' अभियानमा दुई सय बढी व्यक्ति जोडिएका छन् । समूहमा अहिलेसम्म साढे चार लाख रुपियाँ पनि संकलन भएको समूहका संयोजक पुरीले बताए । 

‘हामीले मानवीय र सामाजिक उत्तरदायित्व पूरा गर्न यो अभियान सुरु गरेका हौं,’ अभियानका नेतृत्वकर्ता पुरीले भने, ‘हाम्रो जिम्मेवारी भनेको संकटमा सहयोग गर्नु पनि हो ।’ यस्तो महामारीको संकटका बेला नागरिकले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

विपन्न परिवारका मृतकको दाहसंस्कारका लागि पनि सहयोग गरेको उनले बताए । ‘एकजना मृतकलाई दाहसंस्कार खर्चका लागि पाँच हजार सहयोग गरेका छौं,’ उनले भने, ‘दाहसंस्कारको काम नेपाली सेनाले गरेता पनि आफ्नो परम्पराअनुसार संस्कार गर्नको लागि हामीले सहयोग गरेका हौ ।’ 

अस्पताल र होमआइसोलेसनमा अक्सिजन नपाएकालाई सहयोग गरिरहेको अर्का अभियान्ता मिलन श्रेष्ठले बताए । यो अभियान सुरु गर्नमा लेखा अधिकृत सुशिल केसी र पत्रकार नगेन्द्र उपाध्यायको पनि महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । 

‘उहाँहरु दुवैजनाले अस्पतालको समस्या बाहिर नल्याएको भए हामीलाई थाहा हुने थिएन,’ उनले भने, ‘उहाँहरुले समस्या बाहिर ल्याएपछि हामी तीनजना समूह बनाएर अभियान चलाएका हौं ।’ यो अभियानमा जोडिनेको संख्या बढ्दो छ । यो अभियानप्रति अधिकांस व्यक्तिहरु खुसी व्यक्त गरेका छन् । 

 


Author

थप समाचार
x