कर्णाली

भेरी करिडोर सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्छाैं : मन्त्री खड्का

इकागज |
बैशाख ८, २०८० शुक्रबार १४:५२ बजे

सुर्खेत- उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले कर्णाली करिडोरको सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताएका छन् ।

सुर्खेत विमानस्थलमा पत्रारहरूसँग कुरा गर्दै खड्काले कर्णाली करिडोरलाई प्राथमिकतामा राख्ने बताएका हुन् । ‘अहिले मुलुकको अर्थतन्त्रको अवस्था अप्ठेरो छ त्यसका बावजुत पनि कर्णाली करिडोरको सडकलाई राष्ट्रिय प्राथमिकताको राखेर बहुवर्षीय योजनामा अगाडि बढाउने योजनामा छौं,’ खड्काले भने, ‘कर्णाली करिडोरका लागि बजेट निर्माणको प्रक्रियामा छौं ।’


यसका लागि कर्णालीबाट संघमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरूले यसलाई प्राथमिकताका साथ अगाडि बढाउने खड्काकाे भनाइ छ । रत्नराजमार्गको सडकको डिपिआर भएको र त्यसलाई अगाडि बढाउने काम भएको उनले बताए । त्यसैगरी वीरेन्द्रनगर तेलपानी भुरीगाउँ सडकलाई पनि प्राथमिकतामा राखेको उनले बताए ।

उनका अनुसार कर्णाली र सुदूरपश्चिमलाई संघीय बजेटबाट धेरै पछाडि पार्ने चलन भएको भन्दै अब यी प्रदेशमा बजेटको प्राथमिकतामा पारिने छ । ‘सम्माननीय प्रधानमन्त्री र म चुनावी अभियानका क्रममा कर्णाली आउँदा हामीले चुनाव जित्यौ भने त्यसपछि बन्ने सरकारले बजेटमा प्राथमिकता पार्छाैं भनेका थियौं,’ मन्त्री खड्काले भने, ‘यस कुरामा हामी प्रतिबद्ध छौं । विगतमा यो प्रदेश पछाडि परेको अवस्था हो त्यसलाई चिर्दै अगाडि बढ्दै छौं ।’

रक्षामन्त्री खड्काले उपचुनावपछि संघीय सरकारले पूर्णता पाउने र सरकारका बाँकी रहेका उपचुनावपछि बाँकी कामहरू पनि हुने बताए । अहिले यो बीचमा काम गर्नका लागि संसद् बैठक १२ गतेका लागि तोकिएको खड्काकाे भनाइ छ ।

‘यो बीचमा सर्वाैच्च अदालतको प्रधानन्यायाधीशको नियुक्ति, सुनुवाइ समितिको निर्माण, त्यसैगरी संवैधानिक परिषद्सँग जोडिएको ऐन पेश भइसकेको छ त्यसलाई पनि अघि बढाउने गरी प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘अस्ति मात्रै संवैधानिक परिषद्को बैठक बस्यो हामी सबै सदस्यहरू सहभागी भयौं । त्यहाँ प्रधानन्यायाधीशको नियुक्तिका विषयमा छलफल भयो र केही इस्यूका विषयमा पनि छलफल भयो, त्यो निर्णय आउन बाँकी छ ।’ 


Author

थप समाचार
x