कर्णाली

कर्णालीका मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिँदै

इकागज |
बैशाख १५, २०८० शुक्रबार ११:३८ बजे

सुर्खेत - कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । गएको पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका शर्माले आज तेस्रो पटक विश्वासको मत लिने भएका हुन् ।

आज दिउँसो तीन बजे बस्ने कर्णाली प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन । उनलाई नेपाली कांग्रेसले विश्वासको मत दिनेछ भने नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको रूपमा रहनेछ । 


यसैगरी कर्णाली प्रदेश सभाका विभिन्न चार ओटा समितिले आजै पूर्णता पाउने प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जनाए । बुढाथोकीका अनुसार सदनमा रहेका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र प्रदेश मामिला समितिमा रहने सदस्यहरूको नामावली सदनमा रहेका दलहरूले सचिवालयमा बुझाइसकेका छन् ।

 ‘चार ओटै समितिका लागि सांसदहरूको नाम आइसकेको छ ।’ सचिव बुढाथोकीले भने, ‘आज बस्ने प्रदेश सभा बैठकमा सभामुखज्यूले नाम पढेर सुनाउनुहुन्छ । त्यसपछि समितिले पूर्णता पाउँछ ।’ आज समितिले पूर्णता पाए पनि समितिको अध्यक्षको निर्वाचन भनेपछि हुने बुढाथोकीले बताए ।


Author

थप समाचार
x