कर्णाली

स्वास्थ्य केन्द्रमा आगजनी, आगो लगाएको आशंकामा छानबिन सुरु

इकागज |
बैशाख ३१, २०८० आइतबार १२:४६ बजे

सांकेतिक तस्बिर

दैलेख- दुल्लुको आधारभुत प्राथमिक स्वास्थ्य केन्द्रमा आगलागी भएको छ ।

शनिबार राति दुल्लु नगरपालिका–७ बाहुनगाउँस्थित स्वास्थ्य केन्द्रमा आगलागी हुँदा करिब १५ लाख बराबरको धनमाल क्षति हुन पुगेको छ ।


स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी दहित आचार्यका अनुसार बर्थिङ सेन्टरका औषधि उपकरण तथा सर्जिकल सामान राखिएको मिनी स्टोरमा आगलागी हुँदा सो स्टोरमा रहेका सबै औषधि र उपचारजन्य सामग्रीहरू जलेर नष्ट हुन पुगेको छ । उनका अनुसार सोही कोठामा स्वास्थ्य केन्द्रमा रहेका मध्ये महंगो औषधि र उपकरण राखिएको थियो । 

उनका अनुसार सो आगलागीमा परेर करिब १५ लाख रूपैयाँ मुल्य बराबरको धनमाल क्षति भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डांगीले स्वास्थ्य केन्द्रको ढोकामा लगाइएको ताला फोडिएको अवस्थामा फेला परेकाले घटना थप शंकास्पद भएको भन्दै छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । उनका अनुसार पहिला पनि सो स्वास्थ्य केन्द्रमा तोडफोड भएकाले नियतबस आगो लगाइएको हुन सक्ने आशंकामा अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए । 


Author

थप समाचार
x