कर्णाली

चितुवाको छालासहित एक युवक पक्राउ

इकागज |
बैशाख ३०, २०७८ बिहिवार १३:४६ बजे

सुर्खेत : चितुवाको छालासहित सुर्खेतको गुर्भाकोट नगरपालिकाबाट एक युवकलाई पक्राउ गरिएको छ । गुर्भाकोट नगरपालिका ९ बोटेचौरका २६ वर्षे विरेन्द्रकुमार खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । 

चितुवाको छालासहित ती युवकलाई छिन्चु जाजरकोट सडकखण्ड अन्र्तगत कुरीले भन्ने ठाउँमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विशेष सूचनाका आधारमा प्रहरी कार्यालयबाट खटिएको टोलीले खत्रीलाई मोटरसाइल चलाइरहेको अवस्थामा फेला पारेको थियो । 


खत्रीले बोटेचौरबाट सल्ली बजारतर्फ चलाई लिएको भे ४ प ४८८७ नं. को मोटरसाईकल रोकी चेकजाँच गर्दा चितुवाको छाला भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपि रामप्रसाद घर्तीले जानकारी दिए । 

खत्रीले बोकेको झोलामा लुकाई छिपाई राखेको टाउकोदेखि पुच्छरसम्म भएको चितुवा (बाघ)को छालासहित उनलाई पक्राउ गरिएको छ । पक्राउ गरिएका खत्रीलाई आवश्यक कारवाहीका लागि गुर्भाकोट शव डिभिजन बन कार्यालय मेहलकुना सुर्खेतमा पठाईएको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x